सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थिर समय ९मौन अवधि०मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय आज राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सचेत गराएको हो । “स्थिर समय सुरु हुनुभन्दाअघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डा÷व्यानर, श्रव्यदृश्यलगायत सामग्री समेटी सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुनेहुँदा त्यस्तो कार्य नगर्न÷नगराउनहुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ”, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहितामा मतदान हुनु अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा ‘टक सो’, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन÷प्रसारण÷सम्प्रेषण गर्न नपाइने व्यवस्था छ । कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सोअघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढङ्गबाट अनुगमन गरिरहेको जनाएको छ । “स्थिर समय ९मौन अवधि०मा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिनेछ”, विज्ञप्तिमा भनिएको छ । निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कन÷वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिने काउन्सिलले जनाएको छ । काउन्सिलले आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा विशेष अपिल गरेको छ ।
मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यो अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ । मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना हुने आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको आयोगले जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आजको बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने जनाउँदै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय गरेको छ । मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मस्तिष्क मन्थनलगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ । आयोगले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ । बैठकले निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने निर्णय गरेको छ ।