गठबन्धन चुनावसम्म मात्र होइन :  प्रधानमन्त्री  शेरबहादुर  देउवा 

बिहीबार, मंसिर १, २०७९

अछाम  ।  प्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भनेका  ् छन्  । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने , “यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ ।”   प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता भएको पनि बताए । उनले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन पनि आग्रह गरे  ।

लामो सङ्घर्षबाट ल्याइएको संविधानमाथि यसअघि नेकपाको सरकारका प्रधानमन्त्री केपी ओलीले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनेको पनि उनले स्पष्ट पारे  ।  एक अर्को प्रसङ्गमा उनले अब बन्ने गठबन्धनको सरकारले हालसम्म पनि निर्माण हुन नसकेको अछाम, कैलाली र सुर्खेत जोड्ने चिसापानी जङ्गलघाट सडकखण्डलाई  गौरवको योजनाका रूपमा राखेर सडकको कालोपत्र गर्ने बताए   । त्यस्तै उनले अछाम, कैलाली र डोटी जिल्लालाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक सेती लोकमार्गको निर्माणकार्यलाई छिटो अगाडि बढाउने पनि बताए  । 
प्रधानमन्त्री देउवाले बन्द अवस्थामा रहेको अछामको कैलाशखोला जलविद्युत् आयोजना यसअघि आफ्नै कार्यकालमा बनेको र त्यसपछिको सरकारले उक्त योजनालाई बेवास्ता गरेकाले विद्युत् बन्द हुन पुगेको भन्दै अब बन्ने सरकारले उक्त आयोजनालाई अगाडि बढाई अछामलाई उज्यालो बनाउने बताए  । प्रधानमन्त्री  देउवाले आजै अछामको चौरपाटी गाउँपालिकाको आमसभालाई पनि सम्बोधन गरेका  थिए  ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार