‘भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउनु आपत्तिजनक’ 

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका  छन्  ।  यस्तो कदम निर्वाचन आचारसंहिता विपरीत हुने उनको भनाइ छ । काठमाडौँ महानगरपालिका–३१ जागृतिनगरको बस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका नेता सिंहले भूमि आयोगको प्रतिवेदनको सुझाव नआएसम्म प्रतीक्षा गर्नुपर्ने बताए  । 
 
वाग्मती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकामा आपत्ति जनाउँदै उनले भने , “वाग्मती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझाव दिइएको छ, ती सुझावलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतीक्षामा बस्नुपर्छ ।”  
 
 अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए  । आफूले अरु दलका नेताले जस्तो झुठो आश्वासन नदिने दाबी गर्दै नेता सिंहले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्नेमा विश्वस्त हुन आग्रह गरे  । 

      सुकुम्वासी र भूमिहीनका इच्छा, आकाङ्क्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको जनाउँदै उनले भने  “तपाईंहरुले कत्तिको ख्याल गर्नुभएको छ, मैले यो कुरा संसद्मा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु ।” भूमिहीन र सुकुम्वासीको समस्याको समाधान आफुहरुले मात्रै गर्ने सक्ने दाबीसमेत उनले गरे  । कुन चाही उम्मेदवारलाई जिताउँदा आफ्नो भविष्य राम्रो हुन्छ, भन्ने लेखाजोखा गरेर कांग्रेसलाई आगामी निर्वाचनमा मतदान गर्न उनले आह्वान गरे  ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार