श्रम सचिव एक नारायण अर्यालको पनि लिंक इन्टरनेशनल मेनपावरमाथि आपत्ति

बुधबार, कात्तिक ३०, २०७९
मयुर प्लाई

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी कमल काफ्लेले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको समेत नाम जोडेर ठगी गरिरहँदा समेत वैदेशिक रोजगार विभागले मौनता साँध्यै आएको छ । सरकारले निःशुल्क र न्यूनतम शुल्क लिएर नेपाली श्रमिकलाई विदेशमा रोजगारीका लागि पठाउनु पर्ने निर्णय गरेता पनि काफ्ले सञ्चालक रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले खाडीका विभिन्न मुलुक र मलेसिया पठाउँदा मोटो रकम असुल गरेको पीडितका गुनासो सार्वजनिक भइरहँदा समेत वैदेशिक रोजगार विभागले मौनता देखाइरहेको छ ।
नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी संघको महासचिव समेत रहेका लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेले प्रति कामदार साढे दुई लाखदेखि ३ लाखसम्म असुल्ने गर्छन् । उक्त गुनासो वैदेशिक रोजगार विभागमा समेत पुगेको छ तर, आवश्यक सुनुवाई भइरहेको छैन । विभागमा गएर जानकारी गराउँदा प्रमाणसहित निवेदन दिन भन्ने गरेको तर मेनपावर कम्पनीले ढोका थुनेर एक–एक जना गरी रकम असुल्ने गरेको गुनासो पीडित पक्षको छ ।
एकातिर काँग्रेसनिकट वैदेशिक रोजगार व्यवसायी संघको महासचिव अर्कोतिर श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको नाम जोड्ने गरेकै कारण लिंक इन्टरनेशनल मेनपावरमाथि कारवाही नभएको जानकार बताउँछन् । विदेश जानु अघि नेपाली श्रमिकलाई तोकिएको पारिश्रमिक र सेवा सुविधा समेत नपाउँदा गुनासो गर्नेहरु उपर यातनायुक्त दबाब दिएरै काममा निरन्तर लगाउने, कदाचित काम गर्नै नचाहाने श्रमिकलाई खाली निवेदनमा सहीछाप गराएर फर्काउने र आफूखुसी फर्केको भन्दै लिएको रकम समेत फिर्ता नगर्दा लिंक इन्टरनेशनलबाट खाडीका विभिन्न स्थानमा पुगेका कामदार निकै मर्कामा परेका छन् । यद्यपि, त्यसको जति नै गुनासो गर्दा पनि सम्वन्धित निकायबाट प्रमाणकै मात्र खोजी गरिँदा समस्या सामाधानको खोजी भइरहेको छैन ।
लिंक इन्टरनेशनल मेनपावर कम्पनीले भारतमा दर्ता रहेको मानवतस्करद्धारा सञ्चालित कम्पनीको इशारामा आफ्नो साविकको नाइल ओभरसिजको नाम बदलेर हुबहु राखेको हो । भारतबाट मानवतस्करी गर्न अर्थात् भनेकै काम लगाउनु पर्ने र सेवा–सुविधामा तलमाथि पार्न नपाइने भएपछि नेपालको मेनपावर कम्पनीलाई आफ्नो कब्जामा लिन भारतीय मेनपावर कम्पनी लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस (BO126/MUM/PER/1000+/5/4767/96) सफल भएको हो । भारतीय लिंक इन्टरनेशनलले नेपालको मेनपावर कम्पनीमाफर्त कुनै कामका लागि आकर्षक पारिश्रमिकको प्रलोभन देखाएर नेपाली महिलालाई खाडी पुराएर त्यहाँ ‘हाउस मेड’ अर्थात् घरेलु कामदारका रुपमा काम लगाउने गरेको पाइएको छ । घरेलु कामदारमा काम लगाउने शर्त कडा रहेको र श्रमिकका हितमा थुप्रै शर्तनामा पूरा गर्नु पर्ने भएकाले एउटा काम देखाएर अर्कै काममा लगाउन नेपालको मेनपावरलाई आफ्नै मातहतमा देखाउन भारतीय मानवतस्कर सफल भएका छन् । त्यसमा उचित कमिशनको प्रलोभनमा कमल काफ्ले परेको बताइन्छ ।
यहीबीच, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालसँग सम्पर्क गर्दा आफ्नो विभागीय सचिवका हैसियतले सबै व्यवसायीसँग एक प्रकारको सम्वन्ध रहेको भएता पनि कोही कसैसँग व्यक्तिगत सम्वन्ध नरहेको र बदमासी गर्ने जोकसैमाथि कारवाही हुने बताएका छन् । ‘मेरो गृहजिल्लाका थुप्रैले मेनपावर व्यवसाय गरेका छन् तर व्यक्तिगत रुपमा मेरो कसैसँग पनि कुनै किसिमको निकट सम्वन्ध छैन । बद्मासी गर्नेमाथि जो भए पनि कारवाही हुन्छ’, सचिव अर्यालले भने, ‘मेरो नाम जोड्दैमा र नाता प¥यो भन्दैमा कारवाही नगर्ने भन्ने हुन्न । त्यस्तो बद्मासी रहेछ भने म विभागका महानिर्देशकसँग कुरा गर्छु । बदमासी गर्ने जोसुकैमाथि कारवाही हुन्छ । बढी रकम असुलेको हो भने त्यसमा पनि छानविन हुन्छ ।’
पूर्व स्वीकृती नै नलिएर यूरोप, क्यानडा पठाउने भन्दै राहदानी र रकम असुलेको सन्दर्भमा सचिव अर्यालले भने, ‘पूर्व स्वीकृति नै नलिएर रकम असुल्ने, राहदानी लिने क्रियाकलाप पनि अवैद्य हो । यदी त्यस्तो छ भने कडा कारवाही हुन्छ । छापा मार्नु पर्ने पनि हुन्छ ।’
झण्डै दुई वर्षअघि पोर्चुगल पठाउने भन्दै थुपै्र युवाबाट राहदानी र एडभान्स वापत रकम बुझेका लिंक इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालक कमल काफ्लेले मिडियाबाट आफ्नो कर्तुत लगातार जस्तो सार्वजनिक हुन थालेपछि केही व्यक्तिको रकम र राहदानी भने फर्काउन थालेका छन् । उनले पोर्चुगल र क्यानडा बाहेक, जापान पठाउने भनेर पनि केही व्यक्तिबाट रकम उठाएका छन् । जापानको भने झण्डै दुई वर्ष अघि पूर्व स्वीकृती लिएको भए पनि पटक पटक त्यही विज्ञापन प्रकाशित गरेर ठगी जाल फालिरहेको देखिन्छ ।
स्मरणीय छ, मेनपावर व्यवसायीको नेताका हैसियतमा अन्य मेनपावर कम्पनीमाथि परेको उजुरबाजुर समेत मिलाउने भन्दै विभाग धाइरहने काफ्लेले त्यसरी उजुरी परेका मेनपावर कम्पनीसँग पनि आफूले उजुरी मिलाइदिएको भन्दै विभागका कर्मचारीलाई पनि मिलाउनु नाममा खर्च माग्ने गरेको स्वयम् व्यवसायीहरुकै गुनासो छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार