सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्या तुलनात्मक रूपमा कम देखिए पनि मृत्यु हुने संक्रमतिको संख्यामा देखिएको वृद्धिले संक्रमण फैलिने क्रम आधिकारिक रूपमा गरिएको आकलनभन्दा बढी हुनसक्ने विज्ञहरूको मत छ । नेपालको पछिल्लो अवस्थाबारे तथ्यांक हेर्दा संक्रमितहरूको संख्या बढ्दै अस्पतालहरू समेत खचाखच हुँदाको अवस्थाभन्दा हाल मृत्यु हुनेहरूको अनुपात बढिरहेको देखिन्छ । अधिकांश मानिसमा लक्षण देखिँदा घरमै आइसोलेशनमा बस्ने र सिकिस्त भएपछि मात्रै अस्पताल पुग्ने हुँदा पनि मृत्यु धेरै भएको हुन सक्ने जानकारहरू बताउँछन् । ‘संक्रमित भइसकेकाहरू परीक्षण नगरीकनै घर बस्ने र निश्चित अवधि पछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने हुँदा समग्रमा संक्रमितहरूको संख्या कम देखिएको हुन सक्छ’ संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने । त्यस्तै विदेश जानका लागि कुनै पनि किसिमका लक्षण नभएकाहरूले परीक्षण गर्ने गरेको र त्यसकै आधारमा संख्या घटे जस्तो देखिएको हुन सक्ने उनी बताउँछन् । सरकारले कनट्याक्ट ट्रेसिङ अर्थात संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण समेत गर्न छाडेको अवस्थामा नयाँ संक्रमितहरूको संख्याका तुलनामा मृत्यु हुनेहरूको संख्या बढेका रूपमा व्याख्या गर्न नमिल्ने चिकित्सकहरू बताउँछन् । अझ अस्पताल पु¥याउँदा पु¥याउँदै वा अस्पतालमा मृत्यु भएकाहरूको समेत कोभिड परीक्षण नगर्ने सरकारी निर्देशनका कारण हाल उपलब्ध तथ्यांकमा भर परिहाल्न मिल्ने अवस्था समेत नरहेको जानकारहरूको मत छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन पछिल्ला केही महिनाका तुलनामा हाल कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या बढिरहेको उनी कार्यरत अस्पतालमा देखिएको बताउँछन् । ‘मूलतः ६० वर्ष भन्दा बढी उमेर भएकाहरूको मृत्यु हुने क्रम बढेको मेरो बुझाइ छ’ उनले भने ।
तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकका अनुसार नेपालमा बिहीवार अपराह्नसम्म २,३७,००० भन्दा बढी मानिसमा कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये ९० प्रतिशतभन्दा बढी निको भइसकेका छन् । संक्रमितमध्ये ०.६५ प्रतिशत मानिसको मृत्यु भएको सरकारी तथ्यांक छ । अहिले सक्रिय संक्रमितहरूको संख्या १६,००० को हाराहारीमा छ । कुल संक्रमितमध्ये एकतिहाइ महिला छन् । उमेर समूह हेर्दा सबैभन्दा बढी २१ देखि ३० वर्ष सम्मका मानिसहरूमा संक्रमण पुष्टि भएको छ । त्यसपछि सबैभन्दा बढी संक्रमित ३१ देखि ४० वर्षभित्रका छन् । पाको उमेरका मानिसमा तुलनात्मक रूपमा कम संक्रमण भएको देखिएको भए पनि उनीहरूले ज्यान गुमाउन सक्ने सम्भावना भने बढी हुने चिकित्सकहरू बताउँछन् । ‘कोभिड–१९ लाग्दा एक्लै बस्नुपर्ने हुँदा वृद्ध मानिसहरूमा बढी समस्या देखिने र उनीहरूलाई तुलनात्मक रूपमा आफ्नो अवस्थाबारे जानकारी गराउन कठिन हुनेहुँदा समेत मृत्यु बढी भएको हो भन्ने मेरो बुझाइ छ’ डा. पुनले भने ।
‘घरमा बस्दा समस्या’ केही समयअघि संघीय राजधानी काठमाडौंका अस्पताल कोरोनाभाइरस संक्रमितहरूबाट भरिएको अवस्थामा सरकारले सर्वसाधारणहरूलाई सकेसम्म अस्पताल नजान अनुरोध गरेको थियो । तर हाल अस्पतालहरूमा चाप घटेको र त्यो पनि बढ्दो मृत्युदरसँग सम्बन्धित रहेको चिकित्सकहरू बताउँछन् । ‘अक्सिजन थोरै घट्दा अस्पताल आइपुग्ने अधिकांश मानिसहरूलाई हामी बचाउन सफल भएका छौं, डा. सुवेदीले भने । डा. पुन पनि त्यो कुरा स्वीकार्छन् र अवस्था जटिल भएपछि अस्पताल आउँदा ज्यान जाने सम्भावना बढी हुने बताउँछन् ।‘भेन्टिलेटरमै राख्नुपर्ने अवस्थामा जे पनि हुन सक्छ। त्यो कुनै जादुको छडी होइन’ उनले थपे ।
कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण ‘एघार दिनसम्म ज्वरो आउँदा समेत घरमै बसेको अनि लगातार दुई तिन दिनसम्म श्वासप्रश्वासमा समस्या हुँदा समेत घरमै बसेका बिरामी मैले भेटेको छु’, उनले । धेरै मानिसमा घरमै बस्दा आफ्नो अवस्था कस्तो रहँदा के गर्ने भन्ने विषयमा पर्याप्त जानकारी नहुँदा समस्या बढ्दै गएको उनी बताउँछन् । नेपालमा हाल जाडो मौसम चलिरहेको अवस्थामा प्रतिबन्ध लगाइएका विभिन्न क्षेत्रहरू क्रमिक रूपमा खुला हुँदै गर्दा आगामी दिनहरूमा संक्रमित थपिने वा संक्रमितहरूको अवस्था गम्भीर हुन सक्ने सम्भावना रहेको चिकित्सकहरू औंल्याउँछन् ।–बीबीसी