‘बाटो बनाउनेलाई भोट’

आइतबार, कात्तिक २७, २०७९

जलेश्वर ।  महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन् । जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्र का गिरिराजमणि पोखरेल तीन पटक विजयी भए  । उनी  पटक पटक मन्त्री समेत भए ।  छोडके गाउँमा अहिलेसम्म सडक पनि बनेको छैन । उनीहरु आधारभूत सेबाबाट समेत वञ्चित हुँदै आएका छन् । उक्त गाउँमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीलगायत सुविधाको अभाव छ । स्थानीय मतदाता डम्बर लामा निर्वाचनमा विजयी उम्मेदवारले यहाँको विकासमा ध्यान दिन नसकेको गुनासो गरे  । बर्दिबासको खयरमारादेखि डाँडापारी रहेको यस क्षेत्रमा बर्दिबासबाट बसमा डेढ एक घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ । यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न धौधौ छ । “मिठो खाने र राम्रो लगाउने त सपना मात्रै हो”, स्थानीय सोमबहादुर स्याङतानले भने  ।  

बाँके नदीको शिरमा रहेको यस बस्तीमा पुग्न खोलैखोला तर्नुपर्ने बाध्यता छ । वैकल्पिक मार्गसमेत छैनन् । यहाँका नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अन्य जानु पर्छ । यहाँ तीन सय परिवारका आठ सय ६४ मतदाता छन् । प्रत्येक निर्वाचनमा सडक, स्वास्थ्यचौकी, अस्पताल, खानेपानीलगायत का सुविधा उपल्बध गराउँने आश्वासन दिन्छन् । तर चुनाव जितेपछि भने उम्मेदवार बस्तीमा नआएको यहाँका मतदाताको गुनासो छ ।  बस्तीमा कोही बिरामी परे पैदल पाँच घण्टा खोलाको बाटो हूँदै स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता वर्षौँदेखि यथावत् छ । यो क्षेत्रबाट विगत १५ वर्षदेखि पोखरेल चुनाव जित्दै आएका  छन्  ।   रासस 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार