सुशासनबाट मुलुकको समृद्धि कायम हुन्छ : शेखर कोइराला

बिहीबार, कात्तिक १७, २०७९
Global Ime Bank

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरेका छन् । 
विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरे । 
नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गरे । नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उनले धारणा राखे । 
केशलिया खोलामा सुनसरीको दुहवीदेखि विराटनगरको रानीसम्म सडक करिडोर निर्माण गर्न रु १४ अर्बको योजना अगाडि बढेको डा कोइरालले सो अवसरमा जानकारी दिए । उनले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागिसमेत आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यक्ता औँल्याए ।
राष्ट्रियसभामा कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले नगरलाई दोस्रो ठूलो सहरको रुपमा विकासमा गर्न गठबन्धन दलका उम्मेदवारको विजयी सुनिश्चित गराउन आग्रह गरे । राष्ट्रियसभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवार जित्नुपर्ने बताए ।
मोरङ क्षेत्र नं ६ मा कांग्रेसबाट समानुपातिकतर्फका उम्मेदवार चुमनारायण तवदारले रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना, प्राविधिक शिक्षा र बाढीबाट नगरको संरक्षणका लागि तटबन्ध निर्माण गर्न गठबन्धनको जित आवश्यक रहेको धारणा राखे । मोरङ क्षेत्र नं ६ ‘क’ मा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्यले शिक्षा, स्वास्थ्य, सुकुम्बासी समस्या समाधान र नगरको भौतिक पूर्वाधार निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

मनाङमा चुनावी सरगर्मी बढ्दै 

हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थियो । 
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । दुई मुख्य दलले पुरानै अनुहारलाई जनतामाझ ल्याएको छ भने मनाङका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ हो । पार्टी नै नयाँ हुँदा मनाङवासीले साथ दिन्छन् वा दिँदैनन् भन्ने हेर्न चुनाव नै कुर्नु पर्नेछ । 

manang-41665293694.jpg
कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पाल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । अहिले चुनावी प्रचारप्रसारमा उम्मेदवार व्यस्त छन् । कांग्रेस उम्मेदवारले विगतदेखि नै मनाङलाई सडक सञ्जालसँग जोड्न जोड दिँदै आएको छ । मनाङका लागि कांग्रेस पुरानो पार्टीका रुपमा चिनिन्छ । 

गत निर्वाचनमा मनाङमा एमाले विजयी भएको थियो । प्रदेशसभा ‘क’ तर्फ कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, एमालेका राजन गुरुङ र राप्रपाका मिफेल धिन्दु लामा प्रतिस्पर्धामा छन् । प्रदेशसभा ‘ख’तर्फ राजीव गुरुङ निर्विरोध भइसकेका छन् । 
गत निर्वाचनमा कूल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । दुई सय ८१ मतान्तरले एमाले विजयी भएको थियो । गत स्थानीय तह निर्वाचनमा मनाङका तीन पालिकामा कांग्रेस तथा एउटामा एमाले विजयी भएको थियो । 
प्रतिनिधिसभा र प्रदेशसभामा जित निकाल्ने उद्देश्यसहित सत्ता साझेदार कांग्रेसले नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन कायम गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कूल छ हजार सात सय ७९ मतदाता छन् ।


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार