उम्मेदवारको प्राथमिकतामा विकासका मुद्दा

बिहीबार, कात्तिक १७, २०७९
Global Ime Bank

दोधारा चाँदनी । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार विकासका मुद्दासहित टोलटोलमा पुगेर मतदाता रिझाउन व्यस्त छन् । उम्मेदवारले आगामी पाँच वर्षभित्र जिल्लामा विकास निर्माण गर्ने मुद्दालाई प्रमुख चुनावी ‘एजेन्डा’ बनाएका छन् । 
कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रूपमा विकास गर्ने प्रमुख ‘एजेन्डा’ बनाएका छन् । उनले कञ्चनपुरलाई दक्षिणतिर मित्रराष्ट भारतलाई जोड्ने र उत्तरतर्फ मित्रराष्ट चीनसँग जोडेर पश्चिमी नाकालाई यो देशको धेरै ठूलो व्यापारिक औद्योगिक, धार्मिक, पर्यटकीय नाकाका रूपमा विकास गर्ने बताए ।
“त्रिदेशीय नाकाका लागि महाकाली नदीमा पुल निर्माण गरिसकेका छौँ, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउँछौँ ।” उनले भने, “सुक्खा बन्दरगाहसम्म मित्रराष्ट भारतले पनि आफ्नो सडक जोड्छ र महाकाली किनारकिनार सडक निर्माण गरेर चीनको तिब्बतलाई जोड्छौँ र यो नेपाल भारत र नेपाल चीनका बीचमा सबभन्दा ठूलो नाकाका रूपमा विकास हुन्छ ।” उनले मझगाउँ विमानस्थल सञ्चालन र जिल्लामा अन्य विकासका योजना पाँच वर्षभित्र पूरा गर्ने बताए । 
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार निरु पालले पनि जिल्लामा अधुरा रहेका विकास निर्माणका योजना पूरा गर्ने बताइन् । “मैले सांसद हुँदा पाँच वर्षमा यहाँ विकास निमार्णका थुप्रै काम अघि बढाएकी छु”, उनले भनिन्, “ती अधुरा विकासका योजना पूरा गर्न म गम्भीरताका साथ लाग्ने छु ।” त्यसैगरी मौलिक जरोकिलो पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार त्रिलोक जोशीले पनि जिल्लामा रहेका अधुरा विकास निमार्णका योजना पूरा गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताइन् । “जिल्लामा बाटो घाटो पुलपुलेसा खानेपानी र शिक्षा क्षेत्रमा विकास हुन सकेको छैन” उनले भनिन्, “म निर्वाचित भए जिल्लामा विकास निर्माणलाई प्राथमिकता दिनेछु ।”
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आफू मन्त्री हुँदा जिल्लामा थुप्रै विकास निर्माणका काम अघि बढाएको बताइन् । दलका उम्मेदवारले विकास निर्माणलाई प्रमुख एजेन्डा बनाए पनि कार्यान्वयन हुनेमा स्थानीय भने सशङ्कित छन् । हरेक निर्वाचनमा दल र दलका उम्मेदवारले आश्वासन मात्रै दिने गरेको यहाँका स्थानीय हरिकृष्ण भट्टले बताए । “निर्वाचनको बेला आश्वासन मात्रै हो पछि कार्यान्वयन भएको देखिँदैन” उनले भने, “निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न सबै उम्मेदवार गम्भीर हुनुपर्छ ।” निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवा टोलटोलमा पुगेर आफ्ना एजेन्डा सुनाउँदै मतदाता रिझाउन व्यस्त छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ०५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार