कर्णाली प्रदेश सरकारद्वारा कोभिड उपचारका लागि एक अर्ब बजेट विनियोजन

विकास बजेट रकमान्तर गरी कोरोना कोषमा 
बिहीबार, वैशाख १६, २०७८

कर्णाली । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको ‘कोभिड–१९’ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु एक अर्ब बजेट विनियोजन गर्ने भएको छ ।  प्रदेश सरकारका सामाजिक विकासमन्त्री विमला केसीले आज पत्रकार भेटघाटमार्फत कोरोना महामारीको सङ्कटसँग जुध्न र जनताको स्वास्थ्य सुरक्षाका लागि सो बजेट छुट्याउने तथा विकास बजेटबाट रकमान्तर गरी तत्काल रु ५० करोड कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिइन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी उनले कोरोना नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश अस्पताल सुर्खेतलाई तत्काल २२ करोड, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रणनीतिक अस्पताललाई सरकारले १२ करोड बजेट गरी निकासा पठाएको जानकारी दिइन् ।  उनका अनुसार प्रदेश भित्रिने चार नाकामा स्वास्थ्य जनशक्ति थप गरी एन्टिेजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाइएको छ ।
प्रदेशसमा हालसम्म एक लाख २२२ जनाको पीसीआर परीक्षण भएकोमा आठ हजार ३०२ मा सङ्क्रमण देखिएको, यसमा ७६० सक्रिय सङ्क्रमित भएको र हालसम्म कोरोना भाइरसबाट ३९ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै सरकारले प्रदेशभरिका सम्पूर्ण सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालमार्फत  सङ्क्रमित बिरामीको व्यवस्था मिलाएको बताएको छ । 

जनशक्ति थप्न कर्णाली प्रतिष्ठान र सङ्घीय सरकारलाई आग्रह 
प्रदेश सरकारले प्रदेशभर स्वीकृत दरबन्दीमा एक तिहाइ जनशक्ति मात्र भएको बताएको छ । दरबन्दीअनुसार आवश्यक जनशक्ति नभएको जनाउँदै सरकारले थप जनशक्ति आपूर्तिका लागि सङ्घीय सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई अनुरोध गर्ने उनले बताइन् । ‘हामीले विभिन्न मितिमा करार प्रक्रियामार्फत १०९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना लिएको छौँ’, उनले भनिन्, ‘१५० जना सहायकस्तरका स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा छन् अब छिट्टै काम अघि बढ्छ ।’ उनले स्थानीय तह, प्रदेश अस्पताल, प्रतिष्ठान र जिल्ला अस्पताल गरी एक हजार ९५० आइसोलेसन, ६२ आईसीयू, ३४ भेन्टिलेटर र ५० एचडीयू बेड रहेको जानकारी दिइन् ।  कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन आपूर्तिमा देखिएको चुनौती समाधान गर्न  प्रतिष्ठान  र प्रदेश अस्पताल सुर्खेतमा ठूला अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको र दशवटै जिल्लामा मिनि अक्सिजन प्लान्टका लागि रु ४०÷४० लाखको दरले बजेट विनियोजन गरेको जनाइएको छ । त्यस्तै प्रदेशको आन्तरिक क्षमताले नभ्याउने अवस्थामा नेपालगञ्जबाट दैनिक १५० सिलिण्डर आपूर्तिको व्यवस्था गरिएको र सङ्घीय सरकारको मापदण्डबमोजिम प्रदेशभर ठूला अक्सिजन सिलिण्डर आपूर्तिको व्यवस्था मिलाइएको छ । गरिब तथा विपन्न समुदायका लागि कोभिड उपचारमा आवश्यक पर्ने औषधि रेम्डिसिभर निःशुल्क व्यवस्थापन गरिएको छ ।  त्यसैगरी प्रदेशभर विभिन्न चरणमा सञ्चालित कोभिड खोप कार्यक्रमअन्तर्गत पहिलो चरणमा एक लाख सात हजार २४१ र दोस्रो चरणमा २० हजार २५३ जना नागरिकले खोप सेवा प्राप्त गरेको प्रदेश सरकारले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार