नरैनापुरवासी निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्तामा

मंगलबार, कात्तिक १५, २०७९
Global Ime Bank

बाँके । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिए पनि बाँकेकोे नरैनापुरवासीमा चुनावी रौनक आउन सकेको छैन । 
बर्सादमा धान रोप्ने बेला लामो समय खडेरी भएपछि धान रोप्न नपाएका नरैनापुरवासीको यतिबेला भकारी रित्तिएको छ । खेतबारी पनि बाँभैm रहेको छ । अलि अलि रोपेको धान पनि असोजको अन्तिम साता आएको बर्सादले डुबाएको छ । 
धानको बीउ रोप्ने समय असार, साउन र भदौ तीन महिना खडेरी परेको नरैनापुरमा असोजमा आएको बेमौसमी बर्सादले अधिकांश क्षेत्र डुबान गरेको थियो । नरैनापुरवासी आम निर्वाचनभन्दा पनि खाद्यान्न जोहोको चिन्तामा छन् । 
“पानी पर्ने बेला नपरेर धान रोप्न पाइएन अलि अलि भएको पनि डुबान भएर स्याहार्न पाइएन”, नरैनापुर–६ निवासी सोहनलाल यादवले भने, “खडेरी र डुबानले पीडित नरैनापुरवासीलाई यतिबेला चुनावभन्दा पनि खाद्यान्न जोहो गर्नेमा चिन्ता छ ।”
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट विभिन्न पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ता नरैनापुरमा जाने गरे पनि स्थानीयले चुनावप्रति त्यति धेरै चासो नदिएको उनको भनाइ छ । 
नरैनापुर गाउँपालिका–१ कटकुइँया निवासी प्रमोद मिश्राले सुक्खाग्रस्त नरैनापुरमा खाद्यान्नको व्यवस्था र सिँचाइ तथा डुबानमुक्त गराउने नेतालाई भोट दिने बताए । खडेरी र बाढीको डुबानमा परेका नरैनापुरवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजनासाथ अगाडि बढेका नेकपा एमालेबाट बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताए ।
बाँके क्षेत्र नं १ प्रदेश (१) मा पर्ने नरैनापुरमा सत्ता गठबन्धनबाट नेकपा माआवादी केन्द्रका नेता तथा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार रहेका छन् । यो गठबन्धनबाट प्रदेशसभा सदस्यमा माओवादीकी कृष्णा केसी उम्मेदवार हुनुहुन्छ भने एमाले राप्रपा तालमेलबाट राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीबाट अमर खड्का उम्मेदवार रहेका छन् । 
समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । धान रोप्ने समयमा लामो खडेरी भएका कारण धान रोप्न नपाएपछि नरैनापुर गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न गाउँपालिकाले माग गरेको छ । 

जुम्लामा ८७८ कर्मचारी निर्वाचनमा खटिने 

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा आठ सय ७८ कर्मचारी खटिने भएका छन् ।  निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए ।
जिल्लाभर एक सय छ मतदान केन्द्र र ८३ मतदानस्थल कायम गरिएको छ । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् । त्यसैगरी चार स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लाका आठवटै स्थानीय तह गरी ६८ हजार छ सय ३८ मतदाता छन् ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष १८ हजार आठ सय ७८, महिला १७ हजार नौ सय पाँच गरी जम्मा ३६ हजार सात सय ८३ मतदाता छन् । क्षेत्र नं २ मा पुरुष १६ हजार आठ सय २२, महिला १५ हजार ३३ गरी जम्मा ३१ हजार आठ सय ५५ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिने छ ।
मतदाता शिक्षाका लागि जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा आठ सय म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार