बागलुङका बाढीपीडित भन्छन्, ‘हाम्रो पीडा बुझ्नेलाई भोट’

सोमबार, कात्तिक १४, २०७९

ढोरपाटन । प्रतिनिधि सभा तथा प्रदेश  निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् । 
पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन् । बाढीपीडित कुलबहादुर विक भन्छन्, “नेताहरु चुनावका बेलामात्रै भोट माग्न आउँछन्, अनेक प्रलोभन देखाउँछन्, धेरै पटक चुनाव जिताएर पठायौँ, हाम्रा लागि भने केही गरेनन्, यस पटक जसले हाम्रो पीडा बुझ्छ उसैलाई भोट दिने छौँ ।”

उनले आफूहरु अशिक्षित र दुर्गममा भएका कारण अनेक समस्यासँग झेल्नुपरेको भन्दै चुनावका बेला आउने नेताले आशा मात्रै देखाउने तर काम भने नगरेको बताए । बाढीले सिङ्गो भुजीखोलावासीलाई घरबास र आफन्तविहीन बनाउँदा पनि आफूहरुले जिताएको प्रतिनिधिले दुखेको घाउमा मलम लगाउन नसकेको विकले गुनासो पोखे । 
उनी भन्छन्, “हामी अनपढ छौँ, दुर्गम गाउँमा छौँ, हाम्रो गाउँठाउँमा विकास हुन सकेको छैन, जब चुनाव आउँछ तब नेता दिनरात घरमा आएर धर्ना दिन्छन्, चुनाव सकियो भने फर्किएर पनि आउँदैनन्, दुई वर्ष अगाडि बाढीले हामीलाई घर न घाटको बनायो, आफन्त बगायो, त्यो बेला कोही आएनन्, केहीले त थोरै सहयोग गरे तर नेता हुँ भन्नेले नाक मुख देखाएनन्, अहिले भोट माग्न दिनदिनै आउँछन्, उनीहरुलाई किन हाम्ले भोट दिने ?”

बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षीया नातिनी गरी चार जना बगाएको थियो । आफन्त र भए भरको सम्पत्ति गुमाएपछि विकले ऋणधन घरेर ढोरपाटनमा सानो घर बनाएको भन्दै त्यसको ऋण तिर्न अहिले हम्मेहम्मे भएको बताए । विकले विभिन्न सङ्घ संस्थाले सहयोग गरेको रु दुई लाख राहत पाए पनि घर बनाएको अझै रु चार लाख ऋण थुप्रिएको बताए  ।

“सुरुमा केही समयोग पाएर घर बनाइयो, थप सहयोग पाइन्छ भने पनि अहिलेसम्म पाउन सकिएको छैन, विभिन्न सङ्घ संस्थाले सहयोग गरेको रु दुई लाख त पाइयो, प्रदेश सरकारले दिने भनेको रु ५० हजार आएन, घर बनाउँदा रु छ लाख ऋण लाग्यो, रु चार लाख त मेरो काँधमाथि छ, बरु घर बनाएर सानो छाप्रो बनाएर बस्नु पर्ने रैछ”, उनले निरास हुँदै भने । 
अर्का बाढीपीडित लिलमाया विकले पनि यसपालि भोट नहाल्ने योजना बनाएको बताउनुहुन्छ । उहाँले भोट हाल्नै परे बाढीपीडितलाई सहयोग गर्ने उम्मेदवारलाई मात्रै हाल्ने बताए । 
आफूहरुलाई नेताले चुनावका बेला भ्रममा पारेर भोट माग्ने गरेको भन्दै अब भ्रममा नपर्ने उनको भनाइ छ । “अहिलेसम्म मैले धेरै पटक भोट हाले, भोट हालेर मैले केही पाएन, गाउँले केही पाउन सकेन, नेतामात्रै बने, गरिब, पीडितको दुःख जहाँको त्यही भयो, अहिले भोट हाल्नै परे बाढीपीडितलाई जसले सहयोग गर्छ, उसैलाई भोट दिने हो ।
बाढीले विकको घरसहित छोरा, बुहारी बगाएको थियो । उहाँले पनि अहिलेसम्म पाउनु पर्ने राहत पूरै पाउन नसकेको गुनासो गर्नुभयो । केही नेताले बाढी आएको बेला राहत दिलाइ दिने आश्वासन दिए पनि अहिलेसम्म दिन लाउनन सकेको बताए । 
“सरकारले दिने राहत त अहिलेसम्म पाउन सकेका छैनौँ, अरु त झन हामीलाई कसले दिन्छ र ?, बाढी आएको धेला केही नेता आएर हामी राहत दिलाइ दिन्छौँ भनेर आश्वासन दिए तर अहिलेसम्म उनीहरुले दिलाउन सकेनन्”, विकले भने ।
बाढीमा जीवन सङ्गीनीसहित तीन सन्तान गुमाउनुभएका निमप्रकाश विकले पनि आफूहरुका माग पूरा गर्ने नेतालाई भोट दिने बताए । उनले बाढीले भए भरको सम्पत्ति र परिवारका सबै सदस्य बगाएको दुई वर्ष बितिसक्दा पनि कुनै नेताले सहयोग नगरेको गुनासो गरे । उनले अहिले दिनदिनै नेता भोट माग्न आएको भन्दै उनीहरुलाई भोट नदिने भनेर फर्काइ दिएको बताए ।
“आफ्नो दुःखका बेला कसैले हेर्ने होइन, चुनाव आयो भने घरमा आएर काम गर्ने उछार दिँदैनन्, आफ्नो पीडा एकातिर छ, उनीहरुले बुझ्ने होइन, हाम्रो भोट उनीहरु नेता बन्ने, मन्त्री बन्ने हामीलाई केही न केही”, उनले भने, “मैले त घरमा आउने सबैलाई भोट दिन्न भनेर फर्काइदिन्छु, केहीले त घर बनाइदिन्छौँ, सहयोग गर्छौं पनि भन्छन्, चुनाव जितेपछि उही होला पारा ।”
बाढीले विकको श्रीमती, तीन छोरा भए भरको जायजेथा सबै बगाएको थियो । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीमा परी ३८ बढीले ज्यान गएको थयो । तेइस जनाको शव फेला परे पनि १५ अहिलेसम्म बेपत्ता छन् । बाढीले एक सय ३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, ढलान पुल पाँच काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो ।
 
कैलालीमा बाढीका कारण स्थानीय तरकारी पाउनै मुस्किल

कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो । दसैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो । उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन । किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष दसैँ तिहारमा यहाँका उपभोक्ताले अहिलेसम्मकै महँगो तरकारी किन्नुपर्‍यो ।

कैलालीका बजारमा यो समयमा स्थानीय बारीमा उत्पादन भएको साग, काउली, मूला, धनिया, टमाटर, बोडी, फर्सी, लौकालगायतका तरकारी सहजै पाइन्थे तर यस वर्ष यी सबै जातका तरकारी यहाँका ब्यापारीले भारत तथा अन्य जिल्लाबाट आयात गर्ने गरेका छन् । यसले बजार निकै महँगो भएको उपभोक्ता हरि विकले बताए । 
“यस वर्ष चाडपर्वमा मासुभन्दा तरकारी महँगो भयो, चाडपर्वमा बढी तरकारी खपत हुने गर्छ । प्रतिकिलो रु १०० मुनि कुनै तरकारी पाइएन, गत वर्ष यो बेला साग रु २०÷३० मा पाइन्थ्यो । यस वर्ष खान सकिएन ।”
टीकापुर बजारमा अहिले तरकारीको बजार मूल्य यस वर्षकै महँगो अवस्थामा पुगेको छ । चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक बढेको उपभोक्ताको गुनासो छ । बजारमा अहिले काउली, साग, खुर्सानी, टमाटर, मूला, च्याउलगायतका तरकारीको मूल्य उच्च छ । प्रतिकिलो रु १०० माथि नै छ । तरकारीको सिजन लाग्दै गर्दा र स्थानीय उत्पादन हुने बेलामा पनि बजारमा तरकारीको मूल्य अधिक नै छ । 
“तिहारका समयमा खोजेको सबै तरकारी पाउन सकिएन, काउली प्रतिकिलो रु १५० मा किनियो, प्याज पनि प्रतिकिलो रु १४० मा किन्यौँ, अन्य तरकारी पनि यस्तै महँगो खानुपर्‍यो”, उपभोक्ता कमला न्यौपानेले भने, “बजारमा महँगो भएपछि हामी निकै मर्कामा परेका छौँ । 
सिजनल तरकारी पनि निकै महँगोमा खानुपरेको छ ।” चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक रहेको स्थानीय उपभोक्ता अमित चौधरीले बताए । 
“तरकारी छोइसक्नु छैन, यति महँगो तरकारी अहिलेसम्म खाएको थिएन”, उनी भन्छन्, “हामीजस्ता सधैँ किनेर खानेलाई यो महँगीले हैरान बनायो ।”
बजारमा अहिले सिजनल सबैजसो तरकारी पाइन्छ तर यहाँको उत्पादन भने न्यून रहेको छ । प्रायः सबै तरकारी पहाडी क्षेत्रसँगै भारतीय उत्पादन रहेका छन् । स्थानीयस्तरमा उत्पादन नहँुदा अहिले यस क्षेत्रका उपभोक्ता महँगीको मारमा परेका अर्का उपभोक्ता उमा टमट्टाको भनाइ छ । 
“यहाँ बाढी नआएको भए यतिखेर स्थानीय तरकारी खान पाइन्थ्यो, स्थानीय तरकारी आएको भए सस्तो पाइन्थ्यो”, उनले भने, “स्थानीय साग बजारमा आउन थालिसकेको थियो, बाढीले सबै नष्ट ग¥यो, बाढी आएपछि साग खान पाइएको छैन ।”
तरकारी रोप्ने सिजनमा अनाधिकृत वर्षाले रोपेको तरकारी बाली नष्ट तथा रोप्नमा ढिलाइ भएकाले अहिले बजारमा तरकारीको मूल्य अधिक बढेको तरकारी व्यवसायीको भनाइ छ । स्थानीय बजारमा पाइने तरकारीको मूल्य हेर्दा अहिलेसम्मकै उच्च छ । अहिले बजारमा सिजलन तरकारीको समेत मूल्य उच्च भएको तरकारी व्यापारी शिला चौधरीले बताइन् । “बजारमा पाइने प्रायः तरकारी अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता छ । बाहिरबाट ल्याउँदा हामीलाई नै महँगो पर्छ”, उनी भन्छन्, “यही उत्पादन भएको तरकारी बजारमा आएमात्रै सस्तोमा खान पाइन्छ ।”
असोज १ गते र २३ गते आएको बाढीले तरकारी खेती गर्ने किसानको धेरै क्षति भएको छ । तरकारीका बेर्ना र खेती गरेका किसानको बाली नोक्सान भएको छ । बाली नोक्सानपछि तरकारी किसानले यतिबेला फेरि तरकारी रोप्न थालेका छन् । बजारमा स्थानीय उत्पादित तरकारी आउन अझै एक महिना लाग्ने किसान बताउँछन् ।–रासस 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार