कोभिडका कारण सर्वाधिक दैनिक मृत्यु

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बिहीबार कोभिडसम्बन्धी कारणले सर्वाधिक दैनिक मृत्यु भएको पुष्टि गरेको छ । विगत २४ घण्टामा ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कात्तिक १९ गते ३० जनाको निधन भएको थियो । योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार २४६ पुगेको छ । बिहीवार थप ४ हजार ८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सो सङ्क्रमण १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो ।

सबैभन्दा बढी २० देखि ३९ वर्षका
बिहीवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौंका १ हजार १२७ जना, ललितपुरका २५१ जना र भक्तपुरका १८२ जना छन् । रुपन्देहीमा ५२८, बाँकेमा ४८९ र कैलालीमा ३४९ जना सङ्क्रमित थपिएका हुन् । थपिएका सङ्क्रमितमध्ये ९७ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन् । मङ्गलबार पुष्टि भएका सङ्क्रमितमध्ये ८९ जना नौ वर्षसम्मका, २९५ जना १० देखि १९ वर्षका र २,५२७ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । विगत २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले कुल ३४ हजार ११७ जनामा सक्रिय सङ्क्रमण रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन् ।  मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलालीमा बढी संक्रमित भएका । थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये २ हजार ३६४ जना अस्पतालमा उपचाररत रहेका छन् । तीमध्ये ३३७ जना सघन उपचार कक्षमा र १०७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार