बिरामीको ज्यान जोगाउँदै भेरी अस्पतालका सङ्क्रमित स्वास्थ्यकर्मी

बिहीबार, वैशाख १६, २०७८

राँझा । कोरोना सङ्क्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित भएका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए ।  उनका अनुसार यही वैशाख १ गतेदेखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा सङ्क्रमण पुष्टि भएको छ । नर्सिङ स्टाफ ३३, चिकित्सक आठ, प्यारामेडिक्स आठ, सहायक कर्मचारी २२ र प्रशासनसँग आबद्ध दुई गरी अहिलेसम्म ७३ जना सङ्क्रमित भएका छन् । कैयौँ नर्सिङ स्टाफ सङ्क्रमित भएर पनि आफूजस्तै सङ्क्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ । भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा सङ्क्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । करिब १० स्टाफ नर्स आफँै सङ्क्रमित भएर पनि अरु बिरामीको उपचारमा खटिएको अस्पतालका प्रमुख डा थापाको भनाइ छ ।  अस्पतालमा कोरोना बिरामीका लागि १४२ श्यया छुट्याइएकामा सङ्क्रमितको चाँपसँगै त्यसलाई बढाइएको छ । अहिले भेरीमा २१२  बिरामी छन् । श्यया बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि सङ्क्रमित भएपछि समस्या भएको छ । पाँच स्टाफ नर्सले १०० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनका अनुसार दुई दिनअघि भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ । अस्पतालले ६० कर्मचारी आह्वान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन पाँच र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।

मृतकको संख्या सय नाघ्यो
बाँकेमा कोरोना सङ्क्रमणका कारण १०० भन्दा बढीको ज्यान गएको छ । कोरोना सङ्क्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप छ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् । गए राति ९ः०० देखि बिहान ५ः३० बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गरी छ सङ्क्रमितको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।  उहाँका अनुसार यही वैशाख १२ गते पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ निवासी ५८ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको छ । यसैगरी भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–४ निवासी ६० वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको थियोे । यसैगरी भेरी अस्पतालमा नेपालगञ्ज–९ निवासी ४२ वर्षीय पुरुषको राति १० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–८ निवासी ३२ वर्षीय पुरुषको भेरी अस्तालमै उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । पछिल्लो पटक शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज–५ निवासी ५५ वर्षीय पुरुषको बिहान ५ः३० बजे मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार