सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं। ६ मा तनहुँ जन्मस्थान भएका दुई खनाल चुनावी मैदानमा भिडेका छन् । संयोग कस्तो छ भने यी दुवै खनालको जन्मस्थान तनहुँ हो, उनीहरुको तनहुँमा निर्वाचन क्षेत्र पनि एउटै हो । तनहुँ क्षेत्र–१ उनीहरूको जन्मस्थानको निर्वाचन क्षेत्र हो । उनीहरू दुवैको छवि राष्ट्रिय स्तरसम्म चर्चित छ । शैक्षिक अभियान्ता, उद्यमी र सार्वजनिक नीतिका विशेषज्ञको परिचय बनाएका शिशिर खनाल र प्रहरीको उच्च पद प्रहरी महानिरीक्षक (आइजीपी) भएका सर्वेन्द्र खनाल दुवैजनाको पृष्ठभूमि निकै बलियो छ । दुवैजना आफ्ना क्षेत्रमा दक्ष र अनुभव प्राप्त भएका व्यक्ति हुन् । शिक्षा क्षेत्रबाट आएका शिशिर खनाल र प्रहरी क्षेत्रबाट आएका सर्वेन्द्र खनाल एक अर्कालाई कडा चुनौती दिने उम्मेदवारका रुपमा हेरिएको छ । उनीहरुसँगै सत्ता गठबन्धनबाट भीमसेनदास प्रधान पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएर चुनाव प्रचारमा होमिएका छन् । भीमसेनदास यो क्षेत्रका निवर्तमान सांसद पनि हुन् । कोर नेवार वस्तीमा भीमसेनको बलियो पकट छ भने काँठ क्षेत्रमा दुई खनाल अलि बलिया मानिएका छन् । शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्न लिएर उम्मेद्वारी दिएका हुन भने सर्वेन्द्र खनाल नेकपा एमालेका उम्मेदवार हुन् । नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक भएका सर्वेन्द्रले अपराध नियन्त्रण, समाज रूपान्तरणमा योगदान दिएका छन् । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । खनालमाथि एउटा आरोप लाग्ने गरेको छ, ‘सांसद अपहरणको ।’ जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा उनी मुछिएका थिए । निर्माला हत्याकाण्डलाई निष्कर्षमा पुर्याउन नेतृत्वदायी भूमिका निर्वाह नगरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । निर्वाचनका बेला उम्मेदवारका विगतका कार्य स्वभाविक रुपमानै उठ्ने गर्छ । यी कार्यलाई हेरेर नै मतदाताले आफ्नो मत जाहेर गर्छन् । शिशिर खनाल टिच फर नेपाल शैक्षिक संस्थाको स्थापना गरी नेतृत्वमा रहे । उनी नेतृत्वको यो संस्थाले सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न क्रियाशील छ । ललितपुरबाट सुरु भएको सरकारी विद्यालयमा दुई वर्षका लागि स्वयम् सेवी शिक्षक पठाउने उनको सुरुवाती काम अहिले धेरै जिल्लामा फैलिएको छ । उनले तुलसीपुर उपमहानगपालिकामा शिक्षा सल्लाहकारको भूमिका पनि निर्वाह गरेका थिए । शिक्षा सल्लाहकारमा रहँदा उनले नीति निर्माण र शैक्षिक रूपान्तरणको खाका कोरेका थिए । पछिल्लो समय उनी लजिस्टीक र डेलिभरी सेवा प्रदायक कम्पनी ‘पिक एन्ड ड्रप’मा सह–संस्थापकको भूमिकामा क्रियाशील छन् । यो संस्थाले ५० जनाभन्दा बढी युवालाई रोजगारी दिएको छ । यी दुई खनालको चुनावी भिडन्तलाई क्षेत्र नं ६ का मतदाताले कुन रुपमा लिन्छन यो भने हेर्न बाँकी नै छ ।