पहिरोले राजमार्ग बन्द भएपछि पाँच दिनको पैदल हिँडेर सुर्खेत

सोमबार, असोज ३१, २०७९

कर्णाली । “सोह्र वर्षअघि हिँडेको जुम्ला, कालीकोट र दैलख हुँदै सुर्खेत पुग्ने बाटो निकै बिरानो भइसकेको रहेछ । पत्ता लगाएर हिँड्न सफल भयौँ । यात्रा कठिन भयो तर त्यसले फरक अनुभूति गरायो,” जुम्ला चन्दननाथ नगरपालिका–७ जुम्ला मिचा गाउँ निवासी धनवीर नेपालीले भने । 
उनी गत शनिबार पाँच दिन लगाएर सुर्खेत पुगे । कात्तिक ६–१० गते काठमाडौँमा हुने विभिर्स इस्टर्न मण्डलीको महाभेलामा पुग्नका लागि नेपाली पैदल हिँडेर सुर्खेतमा पुगेका हुन् । असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कर्णााली राजमार्ग ठप्प भएपछि पैदल यात्रा हिँड्नु परेको उनले बताए । शक्ति र पहुँचवालाहरूको हवाइजहाज यात्रा हुँदा पहुँचविहीनहरू भने यतिबेला तल झर्न पैदल बाटो हिँडेरै कष्टकर यात्रा गरिरहेका छन् ।
नेपालीले जुम्लादेखि कालीकोटको गाल्जे, चिल्खाया, भलायपानी, पाद्मघाट, महावु लेक पार गरी दैलेखको ऊनपाटा, नाउली, महावसैनी, ओखरपाटा, छान्ना, औलजिरा, कालीमाटी, खुर्सानीबाडी, दैलेख बजार, चुप्रा, डुङ्गेश्वर, तालपोखरी, गाइबान्ना, गुराँसे हुँदै सुर्खेत पुगिएको बताए । बिरानो भइसकेका बाटोहरूमा उकालीओराली गर्दा कष्ट र फरक अनुभूति भए पनि गन्तव्य पुर्‍याउन ती बाटोहरू सहयोगी भएको उनको भनाइ थियो । 
त्यस्तै, तातोपानी गाउँपालिका–१ जुम्ला राँका गाउँ निवासी रत्न सार्की पनि पैदल यात्राबाटै सुर्खेत पुगे । नेपाली सेनाको नौ महिने तालिम रहेका उनलाई असोज २२ गते नै नेपालगञ्ज पुग्नुपर्ने थियो । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि नेपालगञ्ज पुग्न समस्या भयो । हवाई जहाजको टिकट पाउने अवस्था नभएपछि हिँड्न बाध्य भएको सार्कीले बताए ।
जाजरकोट जिल्ला निवासी लोकेन्द्र रावलले असोज ४ गतेसम्म काठमाडौँ पुग्नपर्ने बाध्यता आइलागेपछि आजबाट पैदल यात्रा सुरु गरेको बताए । “जुम्लामा हामी जस्ता सामान्य वर्गलाई टिकट पाउने अवस्था नै छैन”, दुखेसो पोख्दै उनले भने, “राजमार्ग खुल्न अझ धेरै समय लाग्ने र प्लेन टिकट पनि नपाउने अवस्था भएपछि हिँड्नुको विकल्प देखेनौँ अनि पैदल यात्रा सुरु गर्‍यौँ ।” 
त्यसैगरी, काठमाडौँ यात्राका लागि सुर्खेतसम्मको पैदल यात्रामा हिँडेका जुम्ला चन्दननाथ नगरपालिका निवासी जगत नेपाली, पातारासी गाउँपालिकाका मुनबहादुर नेपाली र तातोपानी गाउँपालिकाका जनकबहादुर रावतले विगतमा हिँडेका बाटो पछ्याएर सुर्खेत पुग्ने गरी पैदल यात्रा सुरु गरिएको बताए । 
विगतमा कोभिड लागेर कमजोर बनेका पातारासी गाउँपालिकाका नेपाली भने पैदल यात्रका क्रममा लेक लाग्ने कुराले चिन्तित छन् । 
कात्तिक ५ गते जापान फिर्तीको टिकट लिएर दसैँ मनाउन आफ्नो मातृभूमि पुगेका तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका लङ्कबहादुर शाही पनि पैदल यात्राको तयारी गर्दै छन् । उनी तीन वर्ष जापान बसेर नेपाल फर्किएका थिए । “घरमा पुगेर दसैँ राम्रो मनाउन त पाइएन नै । दुर्भाग्य भन्नुपर्छ, विपद्ले घरबारी सबै लगेको छ”, शाहीले भने, “अब गह्रुँगो मनसाथ परिवारलाई छोडेर कठिन यात्रा गर्दै विदेसिँदै छु ।”
प्राकृतिक विपद्को वितण्डाले कर्णाली प्रदेशमा विशेष गरी माथिल्लो कर्णालीका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा जनधनको ठूलो क्षति गराएको छ । कर्णाली राजमार्गअन्तरगत सुर्खेत–दैलेख सडकखण्ड खुले पनि कालीकोट–जुम्ला सडकखण्ड बाढी र पहिरोले तहसनहस भएको र खुल्न केही समय लाग्ने सडक डिभिजन कार्यालय जुम्ला डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।  
कालीकोट सडकखण्डमा आजभोलि पनि नयाँ पहिरो आइरहेको छ,” उनले भने, “सबैभन्दा बढी कालीकोट तिलागुफा गाउँपालिकाको राँचुलीदेखि मान्म खाँडाचक्र नगरपालिकाको पिलीसम्म सडक क्षतिग्रस्त अवस्थामा छ । हामीले जुम्लादेखि काम गर्दा नाग्मदेखि करिब दुई किलोमिटर र कालीकोटको दही खोलादेखि सेरीघाटसम्म खोलेका छौँ ।” सबै कुराले साथ दिएसम्म १५–२० दिनमा सडक निर्माण हुने अन्यथा अझै समय लाग्ने डिभिजन प्रमुख श्रेष्ठले बताए ।
उनले सेरीघाटमा ब्लाष्टिङ गरेर सडक खोलेको र त्यहाँ प्राविधिक कर्मचारी खटाएर कालीकोट  कर्णाली राजमार्ग अवरुद्धका कारण सयौँ मान्छेहरू डेढ दशक अघि हिँडेका बाटोको सहारा लिएर सुर्खेत, नेपालगञ्ज र काठमाडौँको यात्रा गरिरहेका छन् । सडक ठाउँठाउँमा विच्छेद भएकाले पुरानो बाटो हिँड्न सहज भएको स्थानीय जनक रावतले बताए । जुम्ला–कालीकोट सडकखण्डको धेरै ठाउँमा सडक नै भाँसिएर तिलामा गएपछि त्यस्ता ठाउँको निर्माण कार्यमा समय लाग्ने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा

लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीले परीक्षा दिन जान नसकेपछि कक्षा १२ का लागि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो ।
गत असोज १९ गतेदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र जहाज पर्याप्त नआएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरूका लागि जुम्लामा परीक्षा केन्द्र तोक्न परीक्षा नियन्त्रण कार्यालयको स्वीकृति दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविष्य अन्योलमा नहोस् भन्दै प्रशासनले विकल्पका लागि परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो । सोहीअनुसार विपद्को समयमा परीक्षा नियन्त्रण कार्यालयले जुम्लामा स्वीकृति दिएको थियो । उनका अनुसार चन्दननाथ उच्च माध्यामिक विद्यालयमा ती विद्याथीको परीक्षा हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीका अनुसार कठिन परिस्थितिमा विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको पत्रसमेत पठाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार