कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्ने कलिङ लिटरेचर फेस्टिबल काठमाडौँमा 

बिहीबार, असोज २७, २०७९

पाटन । दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउन तथा कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्ने अभिप्रायसहित ‘भारत र नेपालःसभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने नाराका साथ यही असोज २९ र ३० गते ललितपुरको होटल हिमालयमा कलिङ साहित्य महोत्सवको हुने भएको छ । 

यशस्वी प्रज्ञा फाउन्डेसन, हिमालयन डेरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिबल काठमाडौँ समेतले ललितपुरको होटल हिमालयनमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको घोषणा गरेको हो । 
नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको कलिङ साहित्य महोत्सवमा ७५ प्रतिशत वक्ता नेपाल र २५ प्रतिशत वक्ता भारतबाट आउने साहित्यकार हुने जनाइएको छ । महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 

MPG-Lalitpur-Pressmeeta1665611727.jpg
महोत्सवमा चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित सङ्गीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले बताएको छ । भारतको साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउने अशोक वाजपेयी, सुधीर चन्द्र, गीताञ्जली श्री, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द नीलकण्ठ (बाहुबलीका लेखक), ओम तन्वी, गगन गिल, हलधर नाग, मालिनी अवस्थी, यतीश कुमार, दिप्ती गोपालनान, पियुश कुमार, पी, गीतकार समीर र अन्य कलाप्रेमीको सहभागिता रहने आयोजकले जनाएको छ । 
“महोत्सवले नेपाल–भारत साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउन तथा कला, संस्कृति र साहित्यको प्रवद्र्धन र विश्वव्यापीकरणमा टेवा पुग्ने विश्वास लिएका छौँ”, आयोजकको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
“जनस्तरमा सिर्जनशील व्यक्तित्वको तहबाट भाषा, साहित्य र कलाको माध्यमद्वारा दुई देशको जनताबीचको भाषा, साहित्यको सम्मान गर्ने, विचार साट्ने संस्कृतिको विकास गर्न यस्ता महोत्वसवको अनिवार्य आवश्यकता छ”, महोत्वसवको औचित्यताका बारेमा धारणा राख्दै वरिष्ठ कवि संस्कृतिविद् तुलसी दिवसले भने । 
कलात्मक साहित्यिक महत्त्वका विषयमा प्रष्टीकरण गर्दै वरिष्ठ कलाकार रागिनी उपाध्यायले विभिन्न विषयमा आधारित रहेर कान्तिपुर आर्ट एक्जिभिसनसमेत हुने जानकारी गराए । “साहित्यमार्फत दुई देशको रीतिरिवाज, संस्कृतिका बारेमा साक्षात्कार हुन सकिन्छ”, साहित्यको महत्त्व र व्यापकताका विषयमा प्रकाश पार्दै वरिष्ठ साहित्यकार माया ठकुरीले भने । 
वरिष्ठ कवि तथा साहित्यकार दिनेश अधिकारीले पहिलो पटक काठमाडौँमा आयोजना हुने यस साहित्यिक सम्मेलनले समग्र भारत र नेपाललाई समेट्ने जिकिर गरे । “भारतीय बजारमा पाठकले नेपाली साहित्य अध्ययन गर्ने वातावरण तयार गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, उनले भने । 
महोत्वसमा साहित्यिक विषयवस्तुमा आधारित रहेर दुई सयभन्दा बढी साहित्यकार, कथाकार, कवि, कलाकार, आख्यानकार, समालोचकसमेतका ३० वटाभन्दा बढी सेसनमा कला, साहित्य र संस्कृतिका विभिन्न विषयमा छलफल हुने जनाइएको छ । 
महोत्सवमा तुलसी दिवस, विष्णुविभु घिमिरे, रागिनी उपाध्याय, माया ठकुरी जगमान गुरुङ, दिनेश अधिकारी, प्रा गोपाल भण्डारी, वसन्त चौधरी, प्रा डा वासुदेव त्रिपाठी, अशेष मल्ल, मञ्जु काँचुली तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनक दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ, महेशविक्रम शाह, माया ठकुरी, अमर न्यौपाने, नारायण ढकाल, विजय कुमारको सहभागिता रहने छ ।
त्यस्तै डा ज्ञानु पाण्डे, डा कुमारी लामा, डा सावित्री मल्ल, सगुना शाह, डा शान्तिमाया गिरी, डा रजनी ढकाल, डा ज्ञानु अधिकारी, अभय श्रेष्ठ, डा गीता त्रिपाठी, स्नेह सायमी, राजकुमार बानियाँ, भीष्म उप्रेती, युवराज नयाँघरे, जय छाङ्छा, प्रभा बराल, प्रतीक ढकाल, नयनराज पाण्डे, राजन मुकारुङ, विमल आचार्य, रामलाल जोशी, सन्तोष श्रेष्ठ, विवेक ओझा, धीरेन्द्र प्रेमर्षी, अर्पण थापा, सुरक्षा पन्त, गोपाल आशक, उमा सुवेदीलगायतको सहभागिता रहने बताइएको छ ।-रासस 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार