आफू अप्ठ्यरोमा पर्नासाथ बैठक छल्छन ओली 

तीन दिनपछिको सचिवालय बैठकमा सहभागी होलान्
बुधबार, मंसिर १७, २०७७

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुकुल समय हेरेर सहभागी हुने–नहुने निर्णय गर्छन् । प्राय बालुवाटारमै बस्ने गरेको पार्टीका बैठकमा ओलीले कहिले स्वास्थ्यको कारण देखाएर अनुपस्थित हुन्छन त कहिले व्यस्तताको कारणबाट अनुपस्थित हुने गरेका छन् ।  
सत्तारूढ दल नेकपाको बुधवारको सचिवालयको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहे । 
ओली अनुपस्थित रहेपछि बैठकका लागि बालुवाटार पुगिसकेका स्थायी समिति सदस्य अनौपचारिक बैठक बसेर फर्किए । ती सदस्यले तीन दिनपछि सचिवालय बैठक डाक्ने निर्णयसहित बालुवाटारबाट हिँडे । शनिबारकाक लागि डाकिएको अर्को बैठकमा उपस्थित हुने या नहुने परिस्थितिमा निर्भर रहने उनका एक सल्लाहकारले बताइ सकेका छन् । आफ्नो व्यस्तताका कारण ओलीले बुधवारको सचिवालय बैठकमा उपस्थित हुन नसक्ने जानकारी मंगलवार नै गराएको तर सल्लाह नगरेरै बैठकको मिति तोकिएकाले प्रधानमन्त्री अनुपस्थित भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री सहभागी नभएपछि बालुवाटारमा भेला भएका कार्यकारी अध्यक्ष प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरूले अर्को बैठक शनिवार अपराह्न १ बजे गर्ने र त्यसमा सहभागी हुन प्रधानमन्त्रीलाई अनुरोध गर्न निर्णय गरेका थिए । नेकपाका प्रवक्ताले आगामी बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने अपेक्षा आफूहरूले गरेको बताएका छन् । 

‘पर्खौ न के हुन्छ ?’
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा तीन दिनपछिको बैठकमा ओली सहभागी हुने या नहुने यसबीचमा हुने घटनाक्रममा भर पर्ने बताउँछन् ।
उनले भने, ‘अर्को बैठकको समय सुनाएर उहाँहरू हिँड्नु भएको छ । २० गते १ बजेसम्म पर्खौ न के हुन्छ, एकता र सहमति भयो भने बैठक बसिहाल्छ । मनमा एउटा कुरा राखेर अर्कै अभिनय गर्दै पार्टी नै मेरो हो जस्तो गर्न थालेपछि के बैठक बस्ला ?’
नेकपाको विधानले दुईवटा अध्यक्षको परामर्श र सहमतिमा पार्टी महासचिवले बैठकको मिति तोक्ने व्यवस्था गरेको थापा बताउँछन् ।
उनी भन्छन्, ‘कार्यकारी अध्यक्षले एक नम्बर अध्यक्षसँग छलफल गर्नुभएको भन्ने मेरो जानकारीमा छैन् । बिहिवार बस्ने भनेको स्थायी कमिटीको बैठक उहाँहरूले २१ गते गर्ने भनेर निर्णय सुनाउनु भएको छ । सचिवालय बैठक नै बस्छ–बस्दैन र बसेर के निर्णय गर्छ ? के विषयहरू स्थायी कमिटीमा जान्छन् ? यस्ता एक दर्जनभन्दा धेरै प्रश्न अझै अनुत्तरित नै छन् ।’ नेकपाका दुई अध्यक्षले एक अर्कालाई विधि प्रक्रिया अनुसार पार्टी सञ्चालन नगरेकोदेखि भ्रष्टाचार जोडिएका कतिपय गतिविधिमा संलग्न रहेको जस्ता गम्भीर आरोप लगाउँदै सचिवालय बैठकमा प्रस्तुत गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड सहितका बहुमत सदस्यले सचिवालय बैठकको निम्ति प्रधानमन्त्री ओलीलाई पत्र दिएपछि दस्तावेज आदान–प्रदानको शृंखला सुरु भएको थियो ।

प्रधानमन्त्रीलाई आग्रह गर्ने
बुधवार पूर्वनिर्धारित समयभन्दा एक घण्टा पछाडि सारेर अपराह्न २ बजे भएको बैठकका लागि सबै सचिवालय सदस्य प्रधानमन्त्री निवास बालुवाटारमा पुगेपनि ओली नगएपछि बैठक तीन दिनपछि फेरि बस्ने भएको हो । प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको कार्यव्यस्तता के थियो भनेर स्पष्ट खुलाएनन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकमा प्रधानमन्त्री उपस्थित हुनुभएन् । त्यसकारण बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्याहरूको समाधानका लागि प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।’ उनले २० गतेको बैठकमा प्रधानमन्त्री ‘अनिवार्य उपस्थित हुने अपेक्षा’ बैठकले राखेको र त्यसका लागि अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । सचिवालय बैठकमा आफूलाई थाहै नदिइ गम्भीर प्रकृतिका फौजदारी आरोप सहित प्रचण्डले राजनीतिक दस्तावेज ल्याएको भन्दै ओली पक्षले त्यो फिर्ता लिइनुपर्ने अडान लिएको छ । प्रधानमन्त्री ओली ती दस्तावेज फिर्ता लिएर प्रचण्डले माफी माग्नु पर्छ भन्ने चाहन्छन्

गम्भीर विवाद
प्रचण्डलाई साथ दिएका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल ओलीले पार्टी निर्णयलाई पटक–पटक उपेक्षा गरेको र स्वेच्छाचारी रूपमा सरकार सञ्चालन गरिरहेको भन्दै त्यसबारे पार्टीले एउटा छिनोफानो गर्नुपर्ने पक्षमा रहेको देखिन्छन् । उक्त पक्ष सचिवालयमा प्रस्तुत सबै पत्र तथा दस्तावेज छलफलको निम्ति स्थायी कमिटीमा लैजान चाहन्छ ।
आगामी सचिवालय बैठकमा प्रधानमन्त्री सहभागी भएनन् भने के हुन्छ भन्ने अझै प्रष्ट छैन । तर कतिपय नेताहरूले ओली सहभागी नभए पनि बाँकी नेताहरूले निर्णय गरेर अघि बढ्नुपर्ने अवस्था आउनसक्ने पनि संकेत गर्न थालेका छन् । जुन कुरा स्वीकार्य नहुने चेतावनी प्रधानमन्त्रीले दिने गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार