लगातारको वर्षाले जनजीवन कष्टकर, दसैँ मनाउन आएका गाउँमै

आइतबार, असोज २३, २०७९

डडेल्धुरा । दसैँको दिन अपराह्नपछि  मौसम परिवर्तन भई अविरल वर्षा सुरु भएको थियो । तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध छन् । जनजीवन कष्टकर भएको छ । 
डडेल्धुराको भित्रीमधेस क्षेत्र आलितालमा बाढी पहिराको त्रास छ भने पहाडी भेगमा पहिराको । गत वर्ष पनि असोज कात्तिकमा भएको झरीले ठूलो नोक्सान बेहोर्नु परेको डडेल्धुरावासी यसपटक पनि निरन्तर भइरहेको वर्षाले पिरोलोमा छन् ।
गत वर्षको बाढीपहिरोबाट पीडित परिवार अहिले पनि अर्काको घरमा साहारा लिइ बसेका छन् । पहिराका कारण घरखेत गुमाउनुपरेको अजयमेरु–१ मुद्राडका केशव पार्की अहिले पनि आफन्तको घरमा बस्दै आएका छन् । मुक्त हलिया भएका कारण सरकारद्वारा निर्माण गरिएको केशव पार्कीको घर गत वर्षको पहिरोले पूर्णक्षति पारेको थियो । उहाँ परिवारसहित आफन्तको जीर्ण घरमा बस्दै आएका छन्् ।
त्यसैगरी अमगढी–१ भेटाका पहिरोपीडित पनि पुरानै ठाउँमा बसिरहेका छन् । वर्षा एकनाश भइरहेको छ । जोेखिम उत्तिकै रहेकाले सतर्कताका साथ गाउँलेलाई सुरक्षित रहन आग्रह गरिएको वडाध्यक्ष लोकबहादुर ऐरले बताए । भेटामा मात्रै करिब तीन दर्जन परिवारले बसोबास स्थानान्तरणका लागि सरकारसँग माग गरी रहेका छन् ।
त्यसैगरी गन्यापधुरा–१ रुवाखोला क्षेत्रमा पनि गत वर्षको पानीले ठूलो धनजनको क्षति पु¥याएको थियो । अहिले पनि उनीहरु त्रसित छन् । सरकारले त्यस क्षेत्रलाई पहिरोपीडित क्षेत्रका रुपमासमेत घोषणा गरेको थियो ।
त्यसैगरी पर्शुराम नगरपालिका क्षेत्रमा पर्ने महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले बर्सेनि दर्जन गाउँ कटान गर्दै आएको छ । गएको साता परेको वर्षाले मात्रै रङ्गु नदीमा लगाएको तटबन्द भत्काएर बाढीले गाउँ र खेतमा क्षति पु¥याएको थियो । जसका कारण मानवीय क्षति नभए पनि पशुचौपाया र खेतपाती नष्ट भएकोे नगरप्रमुख भरत बढाऐर जोशीले बताए । 
उनको सक्रियतामा फुटेको ठाउँमा पुनः तटबन्ध लगाएको तर अहिले पनि जोखिम त्यसै रहेको प्रमुखको भनाइ छ । निरन्तरको वर्षाले मानव जीवन दैनिक कष्टकर भइरहेको छ । डडेल्धुरा जिल्लाकै सबैभन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने पर्शुराम नगरपालिका क्षेत्रका एक दर्जन गाउँ महाकाली, रङ्गुन र शीर्ष नदीको जोखिममा छन् । 
पर्शुराम नगरपालिका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी, सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडी रङ्गुन नदीमा आउने बाढीको जोखिममा छन् भने बलौचा, ओवा, खैरेनीलगायत गाउँ पहिरोको जोखिममा परेका छन् । बलौचा गाउँका ४० परिवार पहिरोको जोखिमलाई हेरी सुरक्षित स्थानमा अस्थायी बसोबास बनाइ सारिएका छन् ।

दसैँमा आएका गाउँमै

बिहीबारदेखि लगातार परेको झरीले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर भएको छ । जिल्लाका ग्रामीण सडक पहिराका कारण अवरुद्ध छन् । दसैँको टीका थाप्न र कूलदेवताको पूजा गर्न आएका मानिस गाउँमै रोकिएका छन् । केही दिनका लागि आफन्तका घरमा आएका पाहुना पनि फर्किन पाएका छैनन् । 
टीका थाप्न भागेश्वर गाउँपालिका–५ पुगेकी कलावती भट्ट पनि टीकाको भोलिपल्ट फर्किने गरी गाउँ पुगेकी थिइन् । उनको बसाई कञ्चनपुर हो । बाटो अवरुद्धका कारण अहिले पनि उनी गाउँमै छिन् । कूलदेवताको पूजा र आफन्तको हातको टीका थाप्न गाउँ आएको थिए तर वर्षका कारण फर्किन नसकेको उनको भनाइ छ । 
दसैँका लागि नै भनेर गाउँ माइती घर आएकी बताउने शान्ति भण्डारी पनि अहिले माइतीमै छिन् । वर्षाले बाटो अवरुद्ध पारेपछि केटाकेटीसहित कसरी फर्किने भन्ने पीर बढेको उनको भनाइ छ ।
अन्य जिल्लामा बस्दै आएका तर दसैँको पूजाआजाका लागि गाउँ फर्केका पनि गन्तव्यमा जान पाइरहेका छैनन् । पानी पर्न रोकिएसँगै गन्तव्यतिर लाग्ने उनीहरु बताउँछन् । वर्षाले गर्दा भिमदत्त राजमार्ग पनि एकतर्फीरुपमा मात्रै सञ्चालन रहेको यातायात व्यवसायीको भनाइ छ । 
लामो दूरीमा चल्ने सवारीसाधन चल्न नपाएको र पठाउन समस्या भएको उग्रतारा यातायातका बस व्यवसायी दीपकराज भट्टले बताए । लामो दूरीकोे बस पठाउन समस्या छ । यात्रुलाई बाटोमा अलपत्र पार्नुभन्दा मौसममा फेरबदल भएपछि नियमित सञ्चालन गर्ने व्यवसायी बताउँछन् ।
दसैँको टीकाको दिनदेखि बदली भएको मौसमले अविरल झरीसहित भारी वर्षा हुन थालेपछि पाँच दिनसम्म मनाउने दसैँको टीकाका साथै खेतीपातीमा पनि असर परेको छ ।
धान काट्ने र चुट्ने बेलामा तीन दिनदेखि परिरहेको वर्षाले कृषकलाई चिन्तित बनाएको छ । भने गाईबस्तुको स्याहार र आम सर्वसाधारणलाई पनि आवतजावतमा समस्या भएको छ । 

म्याग्दीमा पाँच दिनदेखि आन्तरिक यातायात सेवा ठप्प 

म्याग्दीको आन्तरिक यातायात सेवा पाँच दिनदेखि ठप्प भएको छ । जिल्ला सदरमुकाम बेनी बजारदेखि छिमेकी मुस्ताङ जोड्ने बेनी–जोमसोम, बेनी–दरबाङलगायत म्याग्दीका मुख्य र सहायक सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । 
वर्षात्का कारण पहिरो खसेर सडक अवरुद्ध बनेका बेनी–दरबाङ सडकका सवारी चालक दिल शेरपुञ्जाले बताए । जलेश्वर, बैसरी, नौनीबगर, जलथले, गुइँठे, रुप्से र काभ्रेभिरको सडकका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटकलाई पनि समस्या भएको छ । 
विगतका वर्षमा दसैँलगत्तै मुस्ताङ घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । यसपाली सुनसान छ । आएकालाई मुस्ताङ पुग्न र फर्कन सास्ती भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई बेनीसँग जोड्ने बेनी–दरबाङ सडक फापरखेत, सिम र बाङ्गे पहिरोमा अवरुद्ध भएको छ । 
दसैँ मनाउन जन्मथलो पुगेका कार्यक्षेत्र फर्कन र आफन्त तथा माञ्यजनबाट टीका आर्शिवाद लिन हिँडेका गन्तव्यमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । बिरामीलाई पिठ्यँु र डोकामा बोकेर अस्पताल पु¥याउनुपरेको मालिका–२ रुमका टेकबहादुर रसाइलीले बताए । 
ठाउँठाउँमा गाडी परिवर्तन गर्न र तोकिएकोभन्दा महँगो भाडा तिर्नुपरेको मालिका गाउँपालिका–७ बिमकी सुभद्रा पौडेलले बताइन् । “ढुङ्गा खसिरहने पहिरो पार र चार वडा गाडी परिवर्तन गरेर बेनी आइपुगियो”, उनले भनिन्े, “यसपालीको दसैँ मनाएर कार्यक्षेत्रमा फर्कन धेरै कष्ट भयो ।”
सामान्य अवस्थामा दुई घण्टा लाग्ने ठाउँमा पुग्न पूरै दिन हिँड्नुपरेको र प्रतिव्यक्ति रु पाँच सय भाडा लाग्ने गरेकामा एक हजार रुपैयाँभन्दा बढी तिर्नुपरेको यात्रुले गुनासो गरेका छ । असोज १९ गतेदेखि सुरु भएको झरी आज दिउँसोमात्र रोकिएको छ । झरी रोकिएपछि स्थानीय तह, बेनी–जोमसोम–कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयले डोजर परिचालन गरेर सडक मर्मत थालेको जनाएका छन् । 
यसैबीच म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा अवरुद्ध भएको विद्युत् सेवा पाँच दिनपछि शनिबारदेखि सञ्चालन भएको छ । पहिरो र रुख ढलेर अवरुद्ध भएको विद्युत् लाइन मर्मत गरेर सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । विद्युत् अभावमा ग्रामीण क्षेत्रमा फोन सेवा अवरुद्ध भएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार