ओली सरकारले अधिनायकवादी चरित्र देखायो : पौडेल

बुधबार, मंसिर १७, २०७७

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी ओली सरकारले आफ्नो अधिनायकवादी अभिष्टको प्रदर्शन गरेको बताएका छन् । तनहुँको व्यास नगरपालिकामा दुई वडा जोड्ने पुलको उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार तनहुँ प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको थियो । ‘जिल्लामा मेरो पहलमा भएको विकास निर्माणको काम सम्पन्न भएपछि नगरपालिका र उपभोक्ता समितिले निमन्त्रणा गरेकाले म आएको हुँ । तर, सरकारले स्थानीय सरकारको कार्यक्रमलाई सुरक्षा दिनुको साटो अवरोध गर्न खोज्यो’, पौडेलले भने । उनले आफूलाई जनतामाझ पुग्न नदिन सरकारले निषेधाज्ञा लगाएको भन्दै यसले लोकतन्त्रको मर्ममा प्रहार भएको बताए । ‘यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छैन भने देखिएको छ । राजनीतिक गतिविधिलाई निषेध गर्न खोज्नुले अन्ततः लोकतन्त्रलाई नै आघात पु¥याउँछ । सरकारको यो कृत्यको विरोध हुनु आवश्यक छ’, उनले भने ।

दुव्र्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत: देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भनेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा व्यास नगरपालिकाले आयोजना गरेको पुल उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’ देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

यस्तै नेताहरु शेखर कोइराला, गगन थापालगायतले पनि सामाजिक संजालमा गिरफ्तारीको विरोध गरेका छन् । ‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गरिफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन । यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो । यसले यो सरकारको चरित्रलाई उदांगो बनाएको छ’ गगनले ट्वीटरमा लेखेका छन् । उनले यो प्रधानमन्त्री केपी ओलीका लागि निकै महंगो पर्ने पनि बताएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार