डेङ्गुबाट बच्दै सचेत भएर दसैँ मनाउन सुशील कोइराला फाउन्डेसनको आह्वान

सोमबार, असोज १७, २०७९

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले डेङ्गु रोगको सङ्क्रमण बढिरहेकाले सचेततापूर्वक महान् पर्व बडादसैँ मनाउन आह्वान गरेको छ । नेपालीको महान् पर्व बडादसैँ, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री कोइरालाका नाममा खुलेको फाउन्डेसनले चाडबाड मनाउँदा स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो । 
फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा चाडबाडको खुसियालीसँगै रोगको सङ्क्रमण बढ्न नदिन सचेत रहनुपर्नेतर्फ सबैको ध्यानाकृष्ट गराएको हो । 
कोरोनाको जोखिमसमेत पूर्ण रुपमा अन्त्य नभएकाले लापरबाही गर्नु नहुने फाउन्डेसनको आग्रह छ ।
फाउन्डेसनले बडादसैँ, तिहार र छठलगत्तै हुन लागेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी भएपछिको दोस्रो संसदीय निर्वाचनमा पनि अहिलेदेखि सक्रिय हुन आम जनसमुदायमा अनुरोध गरेको छ । संविधानसभाबाट जारी भएको संविधान च्यात्न केही शक्ति सक्रिय भएको देखिएकाले त्यसको संरक्षणका लागि जुट्न पनि फाउन्डेसनले लोकतन्त्रप्रेमी जनसमुदायमा आग्रह गरेको हो । संविधानको रक्षाका लागि निर्वाचनमा धेरैको सक्रिय सहभागिता आवश्यक पर्नेमा फाउन्डेसनले जोड दिएको छ ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्ने प्रधानमन्त्री सुशील कोइरालाका नामबाट खुलेको फाउन्डेसनले वर्तमान संविधानको रक्षाका लागि जनस्तरमा पुगेर विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । फाउन्डेसनको संरक्षकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् । 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार