चाडपर्वमा सवारी दुर्घटना बढ्दै, दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण

शुक्रबार, असोज १४, २०७९

सुर्खेत (भेरीगङ्गा) । कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दसैँ तिहारमा दुर्घटना हरेक बर्ष बढेको देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ । 
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । मङ्गलबार बिहान मात्रै सल्यानको कपुरकोटमा रा१ज ५६३ नम्बरको जीप दुर्घटनाबाट आठ जनाको निधन भएको छ । 
प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कलाई केलाउँदा गत वर्षको दसैँ तिहारमा मात्रै २१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी गत वर्ष दसैँका समयमा ३७ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । 
दसैँमा ठूलो मानवीय क्षति हुनेगरी मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते हँुदा दैलेखमा चार  सवारी दुर्घटनामा सात जना घाइते भएका थिए । 
त्यसैगरी सल्यानमा दुई सवारी दुर्घटनामा १६ जना घाइते भएका थिए भने जाजरकोट, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा एक÷एक सवारी दुर्घटना हँुदा, दुई जनाको मृत्यु भएको तथ्याङ्क रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए । 

चाडपर्वका बेलामा चालकले मादक पदार्थ सेवन (मापसे) को प्रयोग गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्नेलगायतका कारण दुर्घटना बढेको श्रेष्ठले बताए । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले आफ्नोतर्फबाट भरमग्दुर प्रयास गर्दै आएको भन्दै उहाँले प्रहरीले मात्रै प्रयास गरेर नहुने बताए । 

उनले भने, “प्रहरीले आफ्नोतर्फबाट दुर्घटना न्यूनीकरण गर्न धेरै प्रयास गरेको छ, तर हाम्रो प्रयासले मात्रै केही हुँदैन । यसमा सबै पक्षको उत्तिकै भूमिका हुन्छ, अनि मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।”
दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण

गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ । सवारी व्यवस्थापन जिल्ला समिति गुल्मीको आज बसेको बैठकबाट न्यूनतम समय निर्धारण गरिएको हो । चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी र पत्रकारको सहभागितामा भएको बैठकले साना र ठूला सवारीसाधनलाई छुट्टाछुट्टै समय निर्धारण गरेको छ । तम्घास–रिडीको लागि साना सवारीको न्यूनतम समय १ घण्टा ३० मिनेट र ठूला सवारीको २ घण्टा समय तोकिएको छ । 
रिडी–तम्घासको लागि साना सवारीको १ घण्टा ४५ मिनेट र ठूला सवारीको २ घण्टा १५ मिनेट समय तोकिएको छ । यो सडकखण्ड ४५ किलोमिटर दुरीको छ । तोकिएको समय सवारी आवतजावतको लागि न्यूनतम हो । उकालो र ओरालोको आधारमा समय छुट्टाछुट्टै निर्धारण भएको हो ।
तोकिएको न्यूनतम समय अगावै सवारी आवतजावत गरेमा कानुनी कारबाही हुने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । तीव्र गतिका कारणले हुनसक्ने दुर्घटनाप्रति लक्षित गर्दै न्यूनतम समय निर्धारण भएकोले नियम अक्षरशः पालना गर्न रानाभाटले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । चाडपर्वको क्रममा हुने सवारी दुर्घटना शून्य पार्न सबैले ट्राफिक नियम पालना गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले बताए ।  
तम्घास–रिडी सडकखण्ड साँघुरो र निकै व्यस्त रहेकाले न्यूनतम समय निर्धारण गरिएको हो । त्योबाहेक गुल्मीअन्तर्गत अन्य सडकखण्डमा समय निर्धारण भएको छैन ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार