सिटामोल अभाव र ल्याबले लिने शुल्कबारे ललितपुर महानगरले अनुगमन गर्ने

बिहीबार, असोज १३, २०७९

ललितपुर । ललितपुर महानगरले सिटामोल अभाव र डेंगी परीक्षण गर्दा ल्याबहरुले लिने शुल्क सम्बन्धमा अनुगमन गर्ने भएको छ ।  महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सिटामोल अभाव र ल्याबहरुले जथाभावी शुल्क लिएको भन्दै आएको गुनासोलाई सम्बोधन गर्न अनुगमन गर्ने निर्णय गरेको हो । उक्त समितिको संयोजक नगरप्रमुख हुने व्यवस्था छ । 
रोग संक्रमण भए-नभएको पत्ता लगाउन गरिने परीक्षणमा ल्याबहरुले मनोमानी ढंगले शुल्क लिएको गुनासो आएको छ । त्यसैगरी डेंगी ज्वरोमा प्रयोग गर्नुपर्ने सिटामोल अभाव भएको भन्दै नागरिकले गुनासो गर्दै आइरहेका छन् । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बैठकमा अनुगमनलाई तीब्र पार्ने बताए ।

डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा भएको स्थान खोज्ने र त्यसलाई नष्ट गर्ने काम महानगरका वडाहरुमा भइरहेको उनले बताए । महानगरको केही वडाहरुमा डेंगी परीक्षण निशुल्क भइरहेको समेत जानकारी दिए । उनले भने, ‘यो संक्रमण नियन्त्रणका लागि, संक्रमितका लागि महानगरले थप काम गर्छ, त्यस भन्दा अघि विज्ञसमूहबाट सुझाव प्राप्त होस् ।’

उनले प्रत्येक दिन बिहान  ८ः१०देखि ८ः२० सम्म आफ्नो घर, टोल, वडा सफा गर्न व्यक्ति, आमा समूह, महिला समूहलाई आग्रह गरे  । 
ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले डेंगी नियन्त्रण मानिसको व्यवहारसँग जोडिएको विषय भएको बताए । उनले भने,‘सरसफाईसँग जोडिएको विषय भएकाले मानिसको व्यवहारसँग जोडिएको यो सामाजिक विषय हो, त्यसैले डेंगी नियन्त्रणका लागि प्रत्येक व्यक्तिको प्रयास आवश्यक हुन्छ ।’ 
प्रत्येक २४ घण्टामा दश मिनेट घरको सरसफाइमा समय दिए डेंगी नियन्त्रणका लागि सहयोग पुग्ने उनको भनाइ थियो । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर महानगरले डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा भएको ठाउँ खोज्ने र त्यसलाई नष्ट गर्ने काम गरिरहेको बताए । वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले सिटामोल अभाव र डेंगी परीक्षणा ल्याबहरुले लिने शुल्कका कडा अनुगमन आवश्यक भएका बताएका थिए । 
ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा.शतिश विष्टले अझै दुई डेंगी संक्रमण रहने बताउँदै यसबाट जागिन प्रत्येकको सावधानी आवश्यक भएको बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार