चिनियाँ अन्तरिक्ष यानद्वारा चन्द्रमामा सफल अवतरण

बुधबार, मंसिर १७, २०७७
मयुर प्लाई

बेइजिङ । चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ । उसको रोबोटिक चाङग–अ फाइभ अभियान अन्तर्गत मंगलबार राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो ।

उद्देश्य के ?
चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य त्यहाँबाट चट्टान तथा धूलो संकलन गरेर पृथ्वीमा फर्कनु हो । उसको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ ।
चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू संकलन गरेर बिताउनेछ । ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडार जस्ता यन्त्र जडित छ । उसले भुइँबाट ढुंगा वा धूलो उठाएर करिब दुई किलो सामानलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ जसले त्यसलाई पृथ्वीमा फर्काउनेछ ।

अन्तरिक्ष महाशक्ति
यदि फर्कन सफल भएमा सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान हुनेछ । यसअघि यस्तो सफलता ४४ वर्षअगाडि प्राप्त भएको थियो जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । यसै महिनाको अन्त्यतिर उक्त यान भित्री मङगोलिया क्षेत्रको घाँसे मैदानमा उत्रनेछ । यो अभियान सफल भए अन्तरिक्षको महाशक्तिको रूपमा बेइजिङको हैसियत बढ्नेछ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चीनलाई बधाइ दिएको छ । नासाका वरिष्ठ अधिकारीले पृथ्वी ल्याइएका चन्द्रमाका सामग्रीको वैज्ञानिक विश्लेषण गर्ने अवसर अन्तर्राष्ट्रिय समुदायलाई पनि मिल्ले आशा व्यक्त गरे । चीनले यसअघि दुईपटक चन्द्रमामा आफ्ना यानको सफल अवतरण गराइसकेको छ । चीनलाई सन् २०१३ मा चाङग–अ थ्री अनि गत वर्ष चाङग–अ फोरलाई सफल अवतरण गराउन सफलता मिलेको हो ।–बीबीसी 
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार