ब्रिक्स शिखर सम्मेलननयाँ दिल्लीमा

पुटिन आइपुगे, सि जिनपिङ पनि आउँदै
शुक्रबार, भदौ २६, २०८३

नयाँ दिल्ली । मध्य पूर्व तथा युक्रेनमा जारी युद्ध र विश्वव्यापी आर्थिक चुनौतीहरूका बीच आयोजना हुन लागेको ब्रिक्स  शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । दिल्लीस्थित पालम वायुसेना स्टेसनमा ओर्लिएका पुटिनलाई भारतका विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले स्वागत गरेका थिए । रुसी समाचार संस्था 'तासले पुटिनको दिल्ली पुगेकाे जानकारी दिएकाे हाे । सम्मेलनका क्रममा रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी मसुद पेजेस्कियनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । दुईदिने यो बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुदैँछन ।  सन् २०१९ यता चिनियाँ राष्ट्रपति सीको यो पहिलो भारत भ्रमण हुनेछ । हिमालय क्षेत्रको विवादित सीमामा भएको घातक सैन्य झडपको ६ वर्षपछि दुई छिमेकी राष्ट्रहरूबीच सम्बन्ध सुधारका दिशामा यो भ्रमणलाई महत्त्वपूर्ण कदम मानिएको छ । हालैका दिनहरूमा दुवै देशबीच उडान, भिसा तथा उच्चस्तरीय सम्पर्कहरू क्रमशः पुनर्स्थापित भइरहेका छन् । यद्यपि, सीमा विवाद, बढ्दो व्यापार घाटा र रणनीतिक प्रतिस्पर्धाका कारण दुई देशबिचको अविश्वास अझै कायमै रहेकाे इन्डियन एक्सप्रेसले उल्लेख गरेकाे छ । शिखर सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । मुख्य क्षेत्रहरूमा व्यापक ट्राफिक प्रतिबन्ध लागू गरिनुका साथै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । दिल्ली प्रहरीले सर्वसाधारणलाई धैर्य र सहयोगका लागि आग्रह गरेको छ । पश्चिमा शक्तिहरूको वर्चस्व रहेका अन्तर्राष्ट्रिय संस्थाहरूमा उदीयमान अर्थतन्त्रहरूको प्रभाव बढाउने उद्देश्यका साथ सन् २००९ मा 'ब्रिक्स' को स्थापना भएको थियो । हाल यस समूहमा इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्ससमेत थपिएका छन् । विशेषज्ञहरूका अनुसार विस्तारित समूहभित्रै मध्य पूर्वको द्वन्द्वलाई लिएर फरक-फरक दृष्टिकोण रहेकाले यो सम्मेलन चुनौतीपूर्ण बन्न सक्छ । भारतको 'अब्जर्भर रिसर्च फाउन्डेसन' का हयारिस भी पन्तलेले द गार्जियनसँग भने, "यसपटक ब्रिक्स शिखर सम्मेलनमा खाडी क्षेत्रको द्वन्द्व नै मुख्य विवादको विषय बन्नेछ । गत वर्षसम्म उपलब्धि मानिएको ब्रिक्सको विस्तार नै अहिलेका लागि ठूलो चुनौतीजस्तो देखिन थालेको छ ।" त्यस्तै 'क्यापिटल इकोनोमिक्स' का शिलन शाहले इरानमा चलिरहेको द्वन्द्वले विस्तारित समूहको एकताको कडा परीक्षा लिने बताएका छन् । यसअघि मे महिनामा दिल्लीमा भएको ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा संयुक्त विज्ञप्ति जारी गर्न सहमति जुट्न सकेको थिएन । भारतको इरान र इजरायल दुवैसँग सुमधुर सम्बन्ध रहे पनि उसले अमेरिकासँगको सम्बन्धमा समेत सन्तुलन कायम राख्ने प्रयास गरिरहेको छ । द्वन्द्वका कारण उत्पन्न ऊर्जा संकट सामना गर्न भारतले रुसबाट इन्धन आपूर्ति बढाएको छ, जसले गर्दा युक्रेन युद्धका बीच रुस भारतको प्रमुख इन्धन आपूर्तिकर्ता बनेको छ । यसै बीच, भारतका विदेश मन्त्री एस. जयशंकरले भर्खरै किएभको भ्रमण गरेका थिए । सो अवसरमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि भारतले देखाएको प्रतिबद्धताप्रति आभार व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ११:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार