काकाले रड प्रहार गरी चार वर्षीय नाबालक भतिजको हत्या गरे

बिहीबार, असोज १३, २०७९

धनुषा । धनुषामा फलामको रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानका छोरा चार वर्षीय अनुश पासवानलाई उनका काका २८ वर्षीय रवि पासवानले हत्या गरेको जानकारी दिए ।
रविले नाबालक अनुशलाई बुधबार साँझ फलामे रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । धनुषाका प्रनाउ क्षेत्रीका अनुसार आज दिउँसो ३ बजेको समयमा आफ्नै काका २८ वर्षीय रविले रडले प्रहार गरेपछि बालकको मृत्युु भएको हो ।
रडले प्रहार गरेपछि बालक गम्भीर घाइते भएका थिए । स्थानीयस्तरमै उपचारका क्रममा आधा घण्टाभित्रै बालकको मृत्यु भएको प्रनाउ क्षेत्रीले बताए ।
घटनालगत्तै काका रविलाई प्रहरीले पक्राउ गरेको छ । रविलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा राखेर घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
हत्याको कारण खुल्न सकेको छैन । पारिवारिक विवादमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

बाटोबाट लडेर एक जनाको मृत्यु

यता दार्चुला जिल्लाकाे नौगाड गाउँपालिका-४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ । बैतडी जिल्ला डिलासैनी गाउँपालिका-२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा सूचना अधिकारी राजेशबहादुर शाहीका अनुसार सिप्टी हुँदै मार्मा जाने क्रममा हिँडिरहेको अवस्थामा बाटोबाट लडेर मृत्यु भएको हो । 

मार्मा गाउँपालिका- ६ पत्थरकाडा बुहारीको माइतीघर गइरहेका बोहराको सिप्टीको बाटोबाट अन्दाजी ६ मिटर तल खसेर मृत्यु भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

पाँचथरको फिदिम नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनमा मोटरसाइकलको पछाडि सवार भीमबहादुरकी १९ वर्षीया श्रीमती सुस्मिता माझी घाइते भएकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

माझीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने सुस्मिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुस्मिताको शरीरमा धेरै चोटपटक लागेको र अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०३:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार