सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पत्रकारिता हुँदै लेखनबाट राजनीतिमा प्रवेश गरेका रवीन्द्र मिश्रले नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सँग एकताबद्ध भएको छ । राप्रपाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मिश्र नेतृत्वको समूह वरिष्ठ उपाध्यक्ष लिएर एकताबद्ध भएको जानकारी गराइयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने गरी तयारी गरिएको जानकारी गराए ।“देशमा भ्रष्टाचारका घटना बढेको छ, सबै राजनीतिक दलका नेताको सम्पत्ति छानबिन गरौँ, हाम्रा पार्टीका नेताबाट छानबिनको सुरुआत गरौँ, निर्वाचन पद्धति पनि भ्रष्टाचारको कारण बनेकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक पद्धतिबाट सांसद निर्वाचित हुने व्यवस्था गरौँ, संवैधानिक राजा राखौँ”, उनले भने । राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने उल्लेख गर्दै नेता लिङ्देनले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निःशुल्क एवं गुणस्तरीय बनाउन पार्टी लागिपर्ने बताए । राजनीतिक दलका सदस्यरहित न्याय परिषद्को अवधारणलाई पनि राप्रपाले अघि बढाएको उनले सुनाए ।वरिष्ठ उपाध्यक्ष मिश्रले देशका लागि काम नगर्नेले राजनीति छोड्नुपर्ने बताउदै शान्ति, स्थिरता र स्वाधीनताका लागि आफूले राप्रपा रोजेको बताए । उनले भने , “वीपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीति राप्रपाले बोकेको छ, वीपीको मेलमिलाप नीति आजको नेपालमा पनि उत्तिकै सान्दर्भिक छ, यी विचारलाई लिएर राप्रपालाई अझै सूचना प्रविधियुक्त दलका रुपमा हामी स्थापित गर्नेछौँ ।”
सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निःशुल्क एवं गुणस्तरीय बनाउने, सामाजिक सुरक्षा कायम गर्ने तथा ६० प्रतिशत नेपालीले अपनाएको कृषि पेसालाई आधुनिकीकरण गर्ने मुद्दालाई दलले घोषणा पत्रमार्फत लिएर चुनावमा जान लागेको नेता मिश्रले सुनाए । धर्मनिरपेक्षता धर्मान्तरणको माध्यम बनेकाले हिन्दू बौद्ध राष्ट्रको पक्षमा राप्रपा रहेको पनि उनले बताए । राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले आफू मन्त्री भएका बेला गरिएको महाकाली सन्धिको कागजात दराजमा थन्क्याएकाले विकासका काममा अवरोध भएको बताउर्दै कार्यान्वयनमा लाग्ने गरी अब मत पाउनुपर्ने बताए । पञ्चेश्वर र पश्चिम सेती आयोजना सम्पन्न गरी आयआर्जनमा उपयोग गरिने प्रतिबद्धता उनले जनाए । कार्यक्रममा बागमती प्रदेससभाका पूर्वसदस्य शोभा शाक्य, राप्रपा नेता बुद्धिमान तामाङलगायतले देशमा देखिएका विकृति, विसङ्गतिबाट मुक्तिका लागि आगामी निर्वाचनमा दल एकमात्र विकल्प बन्ने बताए ।
यिनै नेता र पार्टीलाई भोट दिए देश बिगार्ने कार्यमा मतदाताको पनि संलग्नता ठहर्छ : राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने बताएका छन् । उनले अहिले कै नेता तथा दललाई कतिपटक जिताउँदा देश बन्छ भन्दै प्रश्न गरे । ‘यिनै पार्टी, यिनै नेता, जसलाई तपाईंले कतिचोटी भोट दियो भने देश बन्छ होला ?,’ उनले भने, ‘अब पनि यिनै पार्टी, यिनै नेतालाई भोट दिने भनेको ति नेतामात्र दोषी होइनन्, ति पार्टीमात्र दोषी होइनन्, तिनलाई भोट दिने तपाईं पनि दोषी हो । देश बिगार्ने काममा तपाईं पनि संलग्न भएको ठहर्छ । कांग्रेस, कम्युनिष्ट कार्यकर्ताले भन्नसक्छन्–हाम्रो नेतालाई यति पटक जिताओ भने देश बन्छ भनेर ?’
दलीय भागबण्डामा न्यायाधीश र संवैधानिक अंगमा पदाधिकारी नियुक्त गरेका दलहरुले राप्रपालाई पश्चगामीको आरोप लगाएको भन्दै उनले अहिलेको राजनीतिक प्रणाली नै असफल भएको दाबी छन् ।
‘हामीले राजनीतिक दलरहित न्याय परिषद हुनुपर्छ भनिरहेका छौँ । दलीय भागबण्डामा न्यायाधीश नियुक्त हुनुहुँदैन भनिरहेका छौँ । तपाइँहरु दलीय भागबण्डाका आधारमा संवैधानिक अंगहरुमा नियुिक्त गरिरहनु भएको छ, फोन गरेर मुद्दा फैसला गर्न निर्देशन दिइरहनुभएको छ, तपाईंहरु अग्रगामी ? अनि हामी पश्चगामी ?,’ उनले भने ।
२०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्न राप्रपाले माग गरिरहेको भन्दै उनले अहिलेको निर्वाचन प्रणाली नै असफल भएको दाबी गरे ।
२०४६ सालयताका कुनै पनि सरकारले कार्यकाल पूरा गर्न नसकेको भन्दै उनले ३२ वर्षको समयमा २६ वटा सरकार बनेका र ति सरकारले कार्यकाल पूरा गर्न नसक्नुमा निर्वाचन प्रणाली नै कारक रहेको बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।