घुम्ती टोलीमार्फत कोरोनाविरुद्धको खोप

बुधबार, असोज १२, २०७९

सुदूरपश्चिम । कोरोना भाइरस विरुद्धको खोप लगाउन खटिएको घुम्ती टोलीका स्वास्थ्यकर्मीहरू धनगढीको हसनपुर चोकमा आज बाटोमा हिँडिरहेका यात्रुलाई खोप लगाउनमा भ्याइनभ्याइमा थिए ।
बाटोमा हिँडिरहेका यात्रुलाई बोलाएर खोप लगाउन आग्रह गरिएपछि कोरोना विरुद्धको खोप नपाएका व्यक्ति खुसी देखिुन्थ्ये । घुम्ती टोली समक्ष जम्मा भएकामध्ये धेरै जसोले खोपको तेस्रो मात्रा अर्थात बुस्टर डोजको खोप लगाए । अहिलेसम्म खोपको एक मात्रा पनि नपाएका कतिपयले पहिलो खोपको मात्रा लगाए ।
कोरोना महामारी फैलिएको समयमा भएको खोप अभावमा खोप पाउन सकस बेहोरेका सर्वसाधारण बाटोमा हिँड्दाहिँड्दै खोप पाइने भएपछि खुसी देखिन्थे । तेस्रो मात्राको खोप लगाएका यादव जोशीले भने, “पहिले तेस्रो मात्राको खोप लगाउन सकिएन, आज आफ्नै पसल अगाडि खोप पाउँदा राम्रै भएको छ ।”
पहिले नै खोपको पूर्ण मात्रा पाइसकेका स्थानीय यज्ञराज ओझाले कोरोनाको महामारीको समयमा यसरी नै घुम्ती टोली परिचालन गरेर खोप लगाउन सकेको भए कोरोनाका कारण हुने मृत्युदरमा कमी आउन सक्थ्यो भने ।
घुम्ती टोलीले यातायात व्यवस्था कार्यालय धनगढीको परिसरमा खोप लगाउन छुटेका धेरै व्यक्तिलाई बुस्टर डोजको खोप दिएको छ । यसअघि कैलाली कारागार, भन्सार कार्यालय, कर कार्यालय, बस बिसौनीलगायत ठाउँमा पुगेर खोप नपाएकालाई खोप दिइएको स्वास्थ्यकर्मी किरण शाहले बताए ।
टोलीमा सहभागी महिला स्वास्थ्यकर्मी शाहले भने, “खोप लगाउँदा जनताको प्रतिक्रिया राम्रै पायौँ । खोप नपाएका कतिपयले भने कोरोना सकिएको भन्दै खोप लगाउन त्यति चासो नदिएको पनि देखियो ।” खोप लगाउन छुटेका, पहिलो मात्रा खोप पाएर दोस्रो मात्रा नपाएका, पहिलो तथा दोस्रो मात्रा पाएर तेस्रो मात्रा (बुस्टर डोज) नपाएकालाई खोप लगाउने गरिएको उनले जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा ‘खोज र खोप अभियान’ थलिएको छ । अभियानअन्तर्गत मानिसको भीडभाड बढी देखिने सार्वजनिकस्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अभियानमा आफ्नो स्वास्थ्य अवस्था र अन्य विभिन्न कारणले खोप केन्द्रसम्म पुगेर खोप लगाउन नसक्ने व्यक्तिलाई समेटिन लागिएको जनाइएको छ ।
प्रदेशमा अहिलेसम्म खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्याका झण्डै २२ लाखको ८० प्रतिशतले पूर्ण खोप पाइसकेकामा झण्डै पाँचदेखि छ लाख जनसङ्ख्याले अझै खोप लगाउन बाँकी रहेको अनुमान छ । सुदूरपश्चिम प्रदेशका कतिपय जिल्लाका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोपको पहिलो मात्रा दिएर दोस्रो मात्रा लगाउने काम भइरहेको छ । स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्ला हप्तामा प्रदेशमा कोरोनाको सङ्क्रमण दर घट्दो क्रममा रहेको बताए ।
यसैबीच स्वास्थ्य निर्देशनालय दीपायलले गएको २४ घण्टामा प्रदेशमा कोरोना भइरसको सङ्क्रमण दर शून्यमा झरेको जनाएको छ । गएको २४ घण्टामा पाँच सय ३७ जनाको नमूना परीक्षण गरिएको थियो । निर्देशनालयको तथ्याङ्कअनुसारकोरोना फैलिएयता प्रदेशमा हालसम्म छ लाख छ हजार दुई सय सात जनाको नमूना परीक्षण गरिएकोमा ६१ हजार आठ ३९ मा कोरोनाको सङ्क्रमण देखिएको छ । पछिल्लो समयमा नमूना परीक्षणबाट लक्षण देखिनेलाई परामर्श दिएर होम आइसोलेशनमा बस्न सल्लाह दिने गरिएको छ । जटिल अवस्था भएका सङ्क्रमितलाई अस्पतालमा भर्ना गर्ने गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार