जग्गा बाँझो हुने क्रम रोक्न अनुदान

बिहीबार, असोज ६, २०७९

दमौली । युवाशक्ति विदेशिँदा गाउँघरका खेत बाँझो हुने क्रम बढेको छ । घरमा ज्येष्ठ नागरिक, महिला र बालबालिका मात्रै हुँदा खेतबारीमा खेती गर्ने क्रम घट्दो अवस्थामा छ । उर्बरभूमि बाँझो राखी बजारबाट खाद्यान्न खरिद गरी उपभोग गर्ने क्रम बढेको छ । 
बाँझो रहेका जग्गालाई पुनः उर्बर बनाउन तनहुँका स्थानीय तह र कृषिसँग सम्बन्धित निकायले प्रोत्साहन गर्ने नीति ल्याएका छन् । बाँझो जमिन उपयोग गरी खेती गर्नेलाई अनुदान दिने व्यवस्थाले कृषकहरू यसतर्फ आकर्षित हुने विश्वास गरिएको छ । 
कृषि ज्ञान केन्द्र तनहुँले बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम अगाडि बढाएको छ । यसका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरिएको ज्ञान केन्द्रका प्रचार–प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिनुभयो । यो कार्यक्रममा कृषक, कृषि फार्म, कम्पनी, समूह, सहकारी संस्था सहभागी हुन पाउनेछन् ।
बाँझो जमिनमा खेती गर्नेलाई प्रतिरोपनी रु पाँच हजारका दरले अनुदान प्रदान गरिनेछ । कार्यालयले चालु आर्थिक वर्षमा १० हेक्टर क्षेत्रफलमा यो कार्यक्रम सञ्चालन गर्ने सिलवालले बताए । 
पहिले खेती गरिएका तर विविध कारणले विगत कम्तीमा तीन वर्षदेखि बाँझो रहन गएका जग्गा भाडामा वा स्वयं धनीले जग्गामा पुनः खेती गरे अनुदान दिइने उनले बताए । “गाउँघरमा प्रशस्त जग्गा हुँदाहुँदै पनि युवाशक्ति विदेशिनु, बसाइँसराइ गरी सहर फिर्नुलगायतका कारणले जग्गा बाँझो हुने क्रम बढ्दो छ”, उनले भने, “बाँझो रहेको जग्गालाई प्रयोग गरी खेती गराउन प्रोत्साहनको नीति अगाडि सारिएको हो ।” उनका अनुसार न्यूनतम तीन रोपनी क्षेत्रफल भएको बाँझो जग्गामा व्यावसायिक खेती गर्नुपर्नेछ । 
ज्ञान केन्द्रले आलु खेती प्रवद्र्धन विशेष कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानको व्यवस्था मिलाएको छ । यसका लागि रु २४ लाख बजेट विनियोजन गरिएको छ । यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत सञ्चालन गरिनेछ । 
कार्यक्रम सञ्चालनका लागि प्रत्येक क्लष्टरमा कम्तीमा १० घरधुरी संलग्न हुनुपर्ने, छनोट भएका क्लष्टरमा प्रत्येक घरधुरीले कम्तीमा थप तीन रोपनी क्षेत्रफलमा खेती लगाउनुपर्ने मापदण्ड बनाइएको छ । आलुखेतीका लागि आवश्यक बीउ, यन्त्र, उपकरण खरिद, सिँचाइ व्यवस्थापन, ग्रेडिङ, प्याकेजिङ, लेबलिङ, सामग्री खरिद, भण्डारण र बजारीकरणमा क्षेत्रमा काम गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ । 
केन्द्रले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । यसका लागि रु २४ लाख बजेट विनियोजन गरिएको छ । दलित, महिला, जनजाति, मुस्लिम, पिछडिएको वर्गलाई प्राथमिकता दिई यो कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । कार्यक्रममा सहभागी हुने फार्म, कम्पनी, कृषकले कम्तीमा दुई रोपनी क्षेत्रफल वा न्यूनतम दुई सय वर्गमिटर क्षेत्रफलको प्लाष्टिक घरभित्र वर्षमा कम्तीमा दुई सिजन तरकारी खेती गरेको हुनुपर्ने जनाइएको छ । 
शुक्लागण्डकी नगरपालिकाले पनि बाँझो जमिन उपयोग प्रोत्साहन कार्यक्रम ल्याएको छ । विविध कारणले तीन वर्षदेखि बाँझो रहेको न्यूनतम तीन रोपनी क्षेत्रफल भएको जग्गामा खेती गरेवापत प्रतिरोपनी रु तीन हजारका दरले अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिए । 
“नगरपालिकाभित्र बाँझो रहेका जमिनमा खेती गराउनका लागि आकर्षित गर्ने उद्देश्यस्वरुप अनुदानको कार्यक्रम अगाडी बढाइएको हो,” उनले भने, “यो कार्यक्रममार्फत् बाँझो जमिनमा खेती गर्न कृषकको आकर्षण बढ्ने विश्वास गरेका छौ ।”
नगरपालिकाले चालु आर्थिक वर्षमा नै कृषकलाई अनुदानमा कृषि उपकरण वितरणको तयारी थालेको छ । पचास प्रतिशत अनुदानमा हाइटेक तरकारी प्लाष्टिक घर निर्माण, ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण, ५० प्रतिशत अनुदानमा असिना छेक्ने जाली वितरण, ५० प्रतिशत अनुदानमा मौरीघार वितरण र कृषि यान्त्रिकरण वितरणको कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । 

तरकारी खेतीबाट मनग्ये आम्दानी 
काम देख्नेलाई स्वदेशमै धेरै अवसर पनि छन् । यस्तै एउटा उदाहरण बन्नुभएको छ, अछाम पञ्चदेवल विनायक नगरपालिका– ३ कुरिपाटाका युवा जनक अधिकारी । कृषि विषयमा उच्च शिक्षा  अध्ययन गरेका उनी तीन वर्षदेखि कृषि पेसामा रमाइ रहेका छन् । उनले भने, “ योग्यता अनुसारको काम नपाएपछि  व्यावसायिक तरकारी खेतीमा लागेको हुँ ।” 
उनको कृषि फार्म मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँंगै जोडिएको छ । टनेल प्रविधिमार्फत तरकारीखेती गर्दै आएका उनले एक सिजनमा रु तीन लाख सम्मको आम्दानी गर्नुभएको छ । फार्ममा मुख्यगरी गोलभेँडा, काउली, गोलभेडा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती रहेको छ । 
उनी आफैले तरकारीखेतीका लागि आवश्यक सबै पूर्वाधार तयार पारेका थिए । एउटा प्लास्टिक टनेलबाट सुरुआत गरिएको फार्ममा अहिले २० ओटा टनेल पुगेका छन् । बजारमा बाहिरबाट आउने विषादीयुक्त तरकारीलाई निराकरण गर्नका लागि उहाँले  विषादीरहित तरकारीमा विशेष जोड दिएका थिए । 
बजारको माग अनुसार जग्गा थप गरी आवश्यकता अनुसार व्यवसायलाई बढाउने उनको तयारी छ ।  उनको यो कर्ममा परिवारका सदस्यको पनि साथ रहेको छ । उनले आफ्नो फार्ममा किसान पाठशालासमेत सञ्चालन गरेका छन् । 
उक्त पाठशालामा जिल्लाभित्र र जिल्ला बाहिरका किसान आएर अवोलकन गरेर त्यहाँ भइरहेको नयाँ प्रविधिको बारेमा जानकारी लिने गरेका छन् । कृषि जेटिए र आइएसि पढिरहेका कृषि प्राविधिकले त्यहाँ गएर प्रयोगात्मक अभ्याससमेत गर्ने गरेका छन् । 
आगामी दिनमा उक्त फार्मलाई बढवा दिँदै तरकारीको बीउबिजन उत्पादन गरी बजारिकरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । जिल्लाका युवा वैदेशिक रोजगारीका लागि भारत र विभिन्न खाडी मुलुकका गइरहेका बेला युवा यसरी कृषि पेसामा आउनु उदाहरणीय काम भएको सरोकारवाला बताउँछन् । 
यस्ता नमूना किसानलाई स्थानीय सरकारले पनि सहयोग गर्ने गरेको छ । पञ्चदेवल विनायक नगरपालिका कृषि शाखा प्रमुख महाजित विकले व्यावसायिक रूपमा कृषि पेसालाई सञ्चालन गरिरहेका नमूना किसानलाई प्लास्टिक घर, थोपा सिँचाइ, बीउबिजन, कृषि आँैजार तथा कृषि प्रविधि  सहयोग गर्ने गरेकोे जानकारी दिए  । उनले भने, “नमूना किसानको पहिचान गरी तिनीलाई व्यावसायिक रूपमा आकर्षण गराउनका लागि कृषि शाखाले आगामी दिनमा पनि सयोगलाई निरन्तरता दिनेछ ।”
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार