सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । कोरोनाभाइरसको महामारी व्यापक रूपमा बढिरहँदा भारतका मसानघाट र समाधिस्थलमा ठूलो चाप परिरहेको छ । भर्खरै ब्रजिललाई उछिन्दै भारत विश्वमा दोस्रो धेरै प्रभावित देश बनेको छ । सङ्क्रमणको सुनामीले देशलाई हल्लाइदिएको छ । अस्पतालहरूलाई किनारमा पु¥याइदिएको छ । त्यहाँ दैनिक १,००० जनाको कोभिड–१९ का कारणले मृत्यु हुने गरेको छ ।
‘दैनिक ५०–६० जनाको अन्त्येष्टि’ भारतको निकै प्रभावित राज्य महाराष्ट्रमा बढ्दै गएको मृत्युका कारण दाहसंस्कारका लागि स्मशानघाटहरूले अतिरिक्त समय दिइरहनुपरेको छ । पुनेस्थित सरकारी शवदाहगृहका कर्मचारी वरुण जङ्गम भन्छन, ‘अहिले दिउँसोको १ बजेको छ र हामीले २२ वटा शवको अन्त्येष्टि गरिसक्यौँ ।’ प्रत्येक दिन आफूहरूले ५० देखि ६० वटा शवको दाहसंस्कार गर्ने गरेको उनको भनाइ छ । ‘हामीसँग छवटा फ्रिज मात्र छन् तर धेरै शव ल्याइन्छ । मानिसहरूले आफन्तको शव लिएर बाहिर पर्खिनुपर्छ’, उनले भने । वरुणका अनुसार उनको कामको जिम्मेदारी आठ घन्टा हो तर कामको बोझ निकै बढी छ । आफ्नो तोकिएको सरकारी समय सकिए पनि उनले कैयौँ घण्टा अतिरिक्त समय काम गर्छन् । राजकोटमा सङ्क्रमणबाट ज्यान गुमाएको अन्त्येष्टि मास्क, पन्जा वा पीपीइ नलगाएरै गरिँदै छ । उनी अन्त्येष्टि प्रक्रियाका क्रममा लगाउन भनेर पीपीई दिइएका थोरै कर्मचारीहरूमध्ये एक हुन् । सङ्क्रमण फैलिँदै गएको गुजरातजस्ता राज्यमा सरकारद्वारा सञ्चालित शवदाहगृहमा काम गर्नेहरू मास्क वा पन्जा नलगाएरै कोभिड पीडितको दाहसंस्कार गर्न बाध्य छन् । कर्मचारीहरूले बताएअनुसार एम्बुलेन्समा यात्रा गरेका बेला उनीहरूले अस्पतालहरूबाट कहिलेकाहीँ पन्जा पाउँछन् अन्यथा उनीहरूसँग सुरक्षा सामग्री हुँदैन । समाचारसंस्था रोएटर्सले कैयौं प्रमुख सहरमा कोभिड–१९ को आधिकारिक मृत्यु तथ्याङ्कभन्दा मसानघाट र समाधिस्थलमा निकै धेरै संख्यामा शव पुग्ने गरेको उल्लेख गरेको छ । पश्चिमी राज्य गुजरातस्थित एउटा शवदाहगृहमा लगातार ग्यास र काठ बालेर शव जलाउनु पर्दा त्यसको धातुको भाग पग्लिन थालेको छ ।
‘१२ घण्टा पर्खिनुपर्ने बाध्यता’
तर शवदाहगृहका कर्मचारीहरूले मात्र असहाय र पीडा भोग्नुपरेको होइन । परिवारका सदस्यहरूले पनि आफ्ना प्रियजनको निम्ति शय्या खोज्दै एउटा अस्पतालबाट अर्काेमा दौडिँदा दौडिँदै तिनको मृत्यु भएपछि अन्तिम संस्कारका लागि लामो समय पर्खिनुपर्ने अवस्था छ । केही अस्पतालहरूले देशमा शवदाहगृहहरूमा चाप बढेकाले शव दिन ढिलाइ गर्ने गरेको बताइएको छ । गुजरातका हेमन्त जादवले बताएअनुसार भाइको मृत्युपछि शव पाउन उनले १२ घण्टाभन्दा बढी समय पर्खिनुपरेको थियो । भाइसँग फोनमा कुरा गर्दा उनको स्वास्थ्यमा सुधार भइरहेको जस्तो जादवलाई लागेको थियो । उनले भने, ‘उसलाई सन्चो हुने र ऊ घर फर्किन्छ जस्तो लागेको थियो, तर अस्पतालबाट उसको मृत्यु भएको खबर पायौँ ।’ मानिसहरूलाई टोकन नम्बर दिइन्छ । उनीहरूले शवगृहबाहिर लामो समय पर्खिनुपर्छ । हालै एक नातेदारको अन्त्येष्टि गरेका शक्तिलाल त्रिवेदीले टोकन पाए पनि छ घण्टापछि पालो आएको सुनाए ।
अवस्था किन भयावह ? भारत अप्रिल महिनाको सुरुबाट घातक दोस्रो लहरको चपेटा परेको छ । भारतमा अप्रिल १५ तारिखयता दिनहुँ दुई लाखभन्दा धेरै सङ्क्रमित देखा परेका छन् । जुन गत वर्ष सङ्क्रमण उच्चबिन्दुमा पुग्दाको भन्दा धेरै संख्या हो । त्यसबेला दैनिक सरदर ९३,००० जना सङ्क्रमित हुने गरेका थिए । राजधानी दिल्लीसहित नराम्ररी प्रभावित मुम्बई, लखनऊ र अहमदाबादजस्ता सहरका अस्पतालहरू कोभिडका बिरामीको उपचार गर्न संघर्ष गर्नु परिरहेको छ । कैयौं राज्यहरूमा कोभिड वार्ड र आईसीयूमा शय्याको ठूलो अभाव रहेको बताइएको छ । व्यापक मागका कारण परीक्षण परिणाममा ढिलाइ हुँदा रोगको पहिचान र उपचार समयमा हुन नसक्ने अवस्था बढिरहेको चिकित्सकहरूले जनाएका छन् ।
कोभिडको प्रकोप विज्ञहरू दोस्रो लहरको चेतावनीलाई भारत सरकारले बेवास्ता गरेको र रोकथाम तथा नियन्त्रणको निम्ति थोरै काम गरेको बताउँछन् । उनीहरूले त्यसको उदाहरणको रूपमा क्रिकेट हेर्न मास्क नलगाएर जम्मा भएको भिड, कोभिड सुरक्षाका आधारभूत नियम पालना नगरेको देखिने ठूला चुनावी ¥याली र गङ्गा नदीमा स्नान गर्न दशौँ लाख मानिसहरू कुम्भमेलामा सहभागी भएका घटनाहरू औँल्याउँछन् ।