सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पत्रकार र आश्रित परिवारका सदस्यले अब निःशुल्क रुपमा आँखाको जाँच गर्न पाउने भएका छन् । नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समिति र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेजबीच आज भएको समझदारीअनुसार पत्रकार र पत्रकारको परिवारका सदस्यले निःशुल्क आँखा जाँच गराउन पाउने भएका छन् । सम्झौताअनुसार पत्रकारका दृष्टि बचाउने उद्देश्य राखेर उपत्यका प्रदेशको समन्वयमा नियमित रुपमा आई क्याम्पलगायत कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । ‘पत्रकारको दृष्टि बचाउ अभियान’ अन्तर्गत उपत्यका प्रदेश समितिको सिफारिसमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीका साथै उनीहरूका परिवारले निःशुल्क रुपमा उक्त सुविधा पाउने छन् । समझदारीपछि नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले दुई निकायबीच समझदारीले अब पत्रकार तथा सञ्चारकर्मी र तिनका आश्रित परिवारका सदस्यले सजिलैसँग आँखाको जाँच गराउन पाउने बताए । पत्रकारको दृष्टि बचाउ अभियान कार्यक्रमलाई देशभर नै पु¥याउनुपर्ने उनको भनाइ छ । उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले अस्पतालसँगको सहकार्यमा अब नियमित रुपमा आई क्याम्पजस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । यस अभियानलाई अन्य प्रदेशसँग पनि समन्वय गरेर विस्तार गर्दै लैजाने उनको भनाइ छ । अस्पतालका कर्पोरेट म्यानेजर राजीव झाले पत्रकार तथा परिवारका सदस्यले निःशुल्क आँखाको जाँच तथा निःशुल्क ओपिडी सेवा लिन सक्ने जानकारी दिए । उनका अनुसार पत्रकार तथा परिवारका सदस्यलाई पनि सर्जरीलगायत सेवामा भने १५ प्रतिशतसम्म छुट दिनेछ । प्रदेश महासचिव टेनिस रोकाले अभियानले पत्रकारलाई आँखाको जाँच तथा सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । एएसजी आँखा अस्पताल नेपाल, भारत र अफ्रिकाको युगाण्डामा कार्यालय रहेको अस्पताल हो । अस्पतालका कर्पोरेट म्यानेजर झाका अनुसार भारतमा यस अस्पतालका एक सय ४० वटा शाखा रहेका छन् । नेपालमा पनि शाखा खोल्ने तयारी भइरहेको उनले जानकारी दिए ।
तनहुँमा पत्रकारको १० लाखको बीमा
व्यास नगरपालिका कार्यालयले जिल्लामा कार्यरत सक्रिय पत्रकारका लागि रु १० लाख बराबरको दुर्घटना र स्वास्थ्य बीमा गरिदिने भएको छ । गत वर्षदेखि पत्रकारको बीमा सुरु गरेको नगरपालिकाले यस वर्ष पनि त्यस कार्यलाई निरन्तरता दिन लागेको हो । नगरपालिका कार्यालयले गतवर्ष जिल्लाभरिका ६५ जना पत्रकारको प्रतिपत्रकार रु १० लाखको बीमा गरिदिएको नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिए । नगरपालिका कार्यालयले रु नौ लाखको दुर्घटना र रु एक लाख बराबरको औषधि बीमा गरिदिएको उनले बताए । व्यास नगरपालिका कार्यालयले जिल्लाका सञ्चारकर्मीहरुका लागि लोककल्याणकारी विज्ञापन र स्वास्थ्य बीमा कार्यमा सहयोग गर्दै आएको छ । जिल्लाका अन्य पालिकाले पनि यस कार्यबाट पाठ सिक्नुपर्ने अवस्था आएको अध्यक्ष पौडेलले बताए । नगरपालिकाले गरेको निर्णयप्रति अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको सिफारिसका आधारमा यस वर्ष पनि क्रियाशील पत्रकारको बीमालाई निरन्तरता दिन लागिएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । रिपोर्टिङको सिलसिलामा यत्रतत्र कुदिरहने पत्रकारलाई सुरक्षा प्रदान गर्ने उद्देश्यअनुरूप नगरपालिकाले निर्णय गरी उक्त सुविधा प्रदान गर्न लागेको नगरप्रमुख न्यौपानेले बताए