चोलेन्द्र शमशेरको बयान प्रतिशोध साँध्ने र झुटाे : ओमप्रकाश अर्याल

सोमबार, भदौ २७, २०७९

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटाे बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् । आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका छन् । शीर्ष नेता, सर्वाेच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहेका छन् । 

आइतबार बयान दिने क्रममा जबराले अधिवक्ता अर्यालको चरित्रमाथि प्रश्न उब्जाउने गरी बयान दिएपछि सोमबार अर्यालले जबराले प्रतिशोध साँध्न र झुटाे बोलेको प्रतिक्रिया दिएका हुन् ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अधिवक्ता अर्यालकी श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन गरेको सिफारिस  आफूले इन्कार गरेको भन्दै बयान दिएका जबराले त्यसपछि अर्यालले सम्पत्ति शु्द्धीकरणको रिट हालेको समितिसमक्ष बताए । 

‘बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशमा पुनदेवी महर्जनलाई दुईचोटी सिफारिस गर्नुभयो । मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निर्थक हो भनेर निर्णय नै गरिसकेको छ,’ जबराले आइतबार आफ्नो बयानमा भनेका थिए । 

सोमबार जबरालाई जवाफ दिँदै अधिवक्ता अर्यालले भनेका छन्, ‘चोलेन्द्र शम्शेरको निष्ठा र न्यायिक आचरणको बारेमा सुरूदेखि नै निरन्तर रूपमा आलोचनात्मक टिप्पणी सार्वजनिक गर्दै आएको हुँ । उनले प्रतिशोध साँध्न झुठो तथ्य खडा गरी नकारात्मक भाष्य निर्माण गर्न खोजेको देखियो ।उनको दावी मसंग सम्बन्धित सार्वजनिक तथ्यबाटै आधारहीन पुष्टि हुन्छ ।’ 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार