दार्चुलामा बाढीपहिरोले पाँच जनाको ज्यान लियो, १० जना बेपत्ता

आठ जना घाइते, एक सय परिवार प्रभावित
आइतबार, भदौ २६, २०७९

दार्चुला । दाचुलामा आएको बाढी र पहिरो अविरल वर्षापछिको बाढी र पहिरामा परेर पाँच जनाले ज्यान गुमाएका छन् । १० जना बेपत्ता भएको उक्त घटनामा आठ जना घाइते भएका छन् । लास्कु खोला र महाकाली नदीमा आएको बाढी र नौगाडमा आएको पहिराले पाँच जनाको ज्यान लिएको हो ।
लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीमा व्यवसाय गर्दै आएका धनसिंह कार्कीको सपरिवार बाढीमा परेको हो । गत वर्षसमेत बाढीले पसलमा क्षति गरेका कार्कीको परिवारलाई यो वर्ष पूरै सखाप पारेको छ ।
अहिलेसम्म घटनामा परी धनसिंहकी श्रीमती मानमति कार्कीको शव महाकाली नगरपालिका–५ नजिकै मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए ।
धनसिंह, उनका छोराद्वय दीपक र दिनेश बेपत्ता छन् । बाढीपहिरोमा परी महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहराको घरभित्रै पुरिएर मृत्यु भएको थियो । घरपरिवारका अरु भागेर ज्यान जोगाए पनि बोहरा भने घरभित्रै पुरिएका हुन् ।

NarendraSinghKarki_Darchula_RSS_25_IMG_3640(1)1662817452.JPG
पहिरोमा परी नौगाड गाउँपालिका–१ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नं २ का ६८ वर्षीय मोहनराम पार्कीको मृत्यु भएको छ । घटनामा परी महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नं ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नं २ का मानमति शाहु, वडा १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोबाट घाइते भएकाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते भएकाको जिल्ला अस्पताल दार्चुलामा उद्धार गरिएको हो ।
 सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका ४५ वर्षीय वीरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देवसिंह ठगुन्नालाई उद्धार जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए ।
यस्तै महाकाली नगरपालिका–२ का हरकसिंह बाहु, वडा नं ४ का अभिषेक कामी र गीता कामीको उद्धार गरिएको छ । घाइते आठै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । नेपाली सेनाकै हेलिकप्टरले दुवै स्थानीय तहका बाढी र पहिरो प्रभावितका लागि राहत सामग्रीसमेत ढुवानी गरिएको छ ।
उनीहरुलाई स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नगरभित्र सबै सुरक्षाकर्मी परिचालन गरेर तत्कालै राहत उद्धारको कार्य गरिएको बताए ।

NarendraSinghKarki_Darchula_RSS_25_25_IMG_36341662796089.JPG

एक सय परिवार प्रभावित

बाढी र पहिरोले दार्चुलाका दुई स्थानीय तहका झण्डै एक सय परिवार प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परी ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षति र ४० घर जोखिममा रहेका छन् ।
प्रहरी परिचालन गरी सङ्कलन गरिएको तथ्याङ्कअनुसार महाकाली नगरपालिकामा धेरै क्षति पुगेको छ । नगरपालिकाको वडा नं १, २, ३ र ४ का बङ्गाबगडसम्मका घर क्षति पुर्‍याएको हो । नौगाड गाउँपालिकाको वडा नं १ मा पहिराले क्षति पुर्‍याएको छ ।

“राति ११ बजेदेखि खोलामा पानी बढेको थियो”, स्थानीय मङ्गलसिंह ठगुन्नाले भने, “विस्तारै १ बजेदेखि कटान सुरु गरेको हो ।” उनले लास्कु खोलामा बाढी आएपछि नदीको दायाँबायाँका बस्ती बगाउन थालेको बताए ।
लास्कु खोला बढेसँगै महाकाली नदीमा समेत पानीको बहाव उच्च भएको थियो । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको तटबन्धमाथि महाकाली पसेको । सोही नदीले बङ्गाबगडका बस्ती बगाउन थालेको ठगुन्नाको भनाइ छ ।

दुहुँ–खलङ्गा सम्बन्धविच्छेद

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्यास जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला–तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभिरसम्म सडक अवरुद्ध भएको हो । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ ।
लास्कु खोलामा निर्माण गरिएको मोटरेवल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन । महाकाली नगरपालिका–४ बङ्गाबगड हुँदै वडा नं १ छापरी जाने पुल बगाएको छ । बाढी, पहिरोमा दुई वटा विद्यालय भत्किएको छ । महाकाली नगरपालिकाभित्रका भुवनेश्वरी आधारभूत विद्यालय पण्डोरा र दशरथनगर आधारभूत विद्यालय बङ्गाबगडको विद्यालय भवन क्षति पु¥याएको छ । यस्तै डुङ्गरीस्थित दार्चुला बहुमुखी क्याम्पसको आवास गृह जोखिममा रहेको प्रहरीले जनाएको छ ।

NSK-Darchula-TatbandhaPahiro1662850973.jpg
दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जीप महाकालीले बगाएको छ । जसमा छ वटा बोलेर जीप, एक ट्र्याक्टर, ग्वालेक निर्माण सेवाको क्रसर मेसिन एक र जेसेभी एक बगाएको छ । दुवै स्थानीय तहका गरी दुई सय ६३ वटा पशु चौपाया मरेका छन् ।

यसैबीच, बाढी प्रभावित क्षेत्रको निरीक्षणमा आएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पहिलो चरणमा राहतको कार्यक्रम ल्याइने बताए । आपूर्तिमन्त्री बडूले दार्चुलाका बाढीपीडितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री बडूसहित प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डा रणबहादुर रावल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले महाकाली नगरपालिका वडा नं ४ को बङ्गाबगड क्षेत्रको बाढी क्षेत्रको निरीक्षण गरेका थिए ।
केन्द्रीय र प्रदेशमन्त्री सहभागी टोली बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बललगायत राहत सामग्री लिएर दार्चुला पुगेको थियो ।
घटनाको स्थलगत निरीक्षणपछि धनगढी पुगेका प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डा.रणबहादुर रावलले शुक्रबार रातिको बाढी र पहिरोले दार्चुलामा ठूलो वितण्डा मच्चाएको जानकारी दिए । मन्त्री रावलले भने, “प्रदेश सरकारले मृतकका परिवारलाई तत्काल रु एक÷एक लाखका दरले राहतस्वरुप उपलब्ध गराउन लागेको छ, राहत र उद्धारको काममा कुनै कसर बाँकी नराख्ने गरी काम भइरहेको छ ।”–रासस

 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार