सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनले बताए । दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ । कार्यदलको बैठक बिहीबार बिहान ९ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको सचिव पुरीले जानकारी दिए । गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र० बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । यसअघि साझा बालुवाटारमा सत्ता गठबन्ध आवद्ध कार्यदलको निर्णायक बैठक साँझ बसेको थियो । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी कार्यदलको बैठक बसेको थियो । बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी थियो । मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।