टेकु अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडान भएपछि उपचार सहज

५० जना बिरामीलाई एकै पटक अक्सिजन दिन सकिने
मंगलबार, मंसिर १६, २०७७

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा लिक्विड अक्सिजन प्लान्ट जडान गरिएसँगै एकै पटक ५० बिरामीलाई अक्सिजन दिन सकिने सुविधा भएको छ । कोरोना संक्रमण भई गम्भीर भएका बिरामीलाई सहज रुपमा अक्सिजन दिनका लागि अस्पतालले लिक्विड अक्सिजन प्लान्ट जडान गरेको हो । अस्पतालले करिब डेढ करोडको लागतमा सो प्लान्ट जडान गरेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले प्लान्ट जडान भएपछि कोरोना संक्रमण भई गम्भीर भएका र अक्सिजनको मात्रा कम भएका ५० जना बिरामीलाई एकै पटक अक्सिजन सुविधा उपलब्ध भएको बताए ।  उनले भने, ‘कहिलेकाहीँ लिक्विड अक्सिजन सकिएर सिलिन्डर अक्सिजन प्रयोग गर्दा दिनमा २०० वटा सिलिन्डर लाग्छ । ५० जना बिरामीले अक्सिजन लिँदा हरेक १० मिनेटमा एउटा चेन्ज गर्नुपर्ने हुन्छ । सिलिन्डरबाट अक्सिजन दिँदा प्रेसर पनि नपुग्ने भएकाले लिक्विड अक्सिजन राखेका हौँ ।’
उनले अक्सिजन सिलिन्डर बोकेर छिनछिनमा परिवर्तन गर्न समेत समस्या हुने बताए । ‘पिपिई लगाएर गह्रौं सामान यताउता सार्दा थकाइ लाग्ने, छिनछिनमा सकिने हुँदा परिवर्तन गर्नुपर्ने र बिरामीलाई प्रेसर पनि नपुग्ने हुन्छ । अहिले निकै सहज भएको छ’, उनले भने । उनले यो अस्पताल नेपालमा लिक्विड अक्सिजन प्लान्ट जडान गर्ने पहिलो अस्पताल भएको बताए । उनले भने, ‘अक्सिजन जेनेरेटर प्लान्ट र सिलिन्डरबाट एकै पटक ५० भन्दा बढी बिरामीलाई अक्सिजन दिन सम्भव हुँदैन । त्यसैले लिक्विड अक्सिजन प्लान्ट जडान गरेका हौँ ।’  प्लान्ट जडान भएपछि हालसम्म टेकु अस्पताल हालसम्म करिब ८ सय जना संक्रमितको उपचार भइसकेको छ । तीमध्ये २७ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
हरेक शैयामा अक्सिजन दिँदा हरेक पटक अक्सिजन सिलिन्डर चेन्ज गर्नुपर्ने हुन्छ । हरेक पटक स्वास्थ्यमकर्मीलाई संक्रमणको जोखिम नहोस भनेर प्रत्येक बेडमा अक्सिजन, पेस र सक्सन मेसिनहरु राखिएको उनले बताए । अस्पतालले कोभिड सुरु भएपछि जडान गरिएको यो लिक्विड अक्सिजन प्लान्टको तयारी अक्सिजन लिक्विड भारतबाट ल्याउने गरिएको छ ।  निर्देशक राजभण्डारीले भने, ‘अस्पताल परिसरमा बनाइएको ट्यांकीमा भरिन्छ । र, त्यो लिक्विडलाई भ्यापराइजर मेसिनमा राखेर ग्यासमा परिणत गरिन्छ । त्यसपछि पाइपद्वारा हरेक बिरामीको बेडमा पुग्छ ।’ उनका अनुसार एक पटक आएको लिक्विडले ५० जना बिरामीलाई  अक्सिजन दिँदा १२ देखि १५ दिनसम्म पुग्छ तर अन्य समयमा भने २ महिना बढी समयसम्मलाई पुग्ने अनुमान छ । एक पटक  लिक्विड ल्याउँदा ६ देखि ७ लाख खर्च लाग्ने उनले जानकारी दिए । अस्पतालमा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामीको सबै उपचार र परीक्षण निःशुल्क  हुने गरेको छ । अस्पतालका निर्देशक राजभण्डारीले उपचार शुल्क तिर्न सक्ने बिरामीलाई भने सकेको शुल्क दिन अनुरोध गरेका छन् । ‘उपचार खर्च दिन सक्ने संक्रमित निको भएर जाँदा सकेको रकम दिनुभयो भने यहाँ अस्पतालले राखेका कर्मचारीलाई समेत तलब सुविधा दिन सकिन्छ । सबै कर्मचारीको तलब मन्त्रालयबाट आउँदैन, अस्पतालकै आम्दानीबाट दिनुपर्ने हुन्छ’, उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार