सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । दैनिक एक घण्टा ड्युटी छाडेर उनीहरू अस्पताल परिसरमा चार दिनदेखि धर्ना बसिरहेका छन् । अस्पतालका पदाधिकारीविरुद्धको आन्दोलन थालेका उनीहरुले अस्पतालमा बिहान एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले बिहान साढे १० देखि साढे ११ बजेसम्म प्ले कार्डसहित हातमा कालो पट्टी बाँधेर धर्ना दिएका थिए । चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित छन् । कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु कात्तिक २ गतेदेखि आन्दोलनमा छन् । शुक्रबारसम्म पनि आफ्ना माग पूरा नगरे आन्दोलनका अन्य कार्यक्रम ल्याउन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् । अस्पतालले स्वास्थ्यकर्मीलाई संक्रमण व्यस्थापनमा खटाएपनि गुणस्तरिय स्वास्थ्य सुरक्षा सामग्री नदिएको, समयमा तलब नदिएको र चैत ११ गतेदेखि हालसम्म एकपटक पनि भत्ता नदिएको आन्दोलित स्वास्थ्यकर्मीहरूको भनाइ छ । ‘आकस्मिक कक्ष र आइसोलेसनमा खटिनेलाई गुणस्तरीय पीपीई दिँदैनन्, जसका कारण हामी आफै संक्रमित भइरहेका छौं,’ अस्पतालको कर्मचारी युनियनका सचिव दिपक मुडबरीले भने, ‘न भत्ता दिइएको न बिमाको शुल्क, यसरी कहिलेसम्म हामी काम गर्नुपर्ने हो ?’ वीरमा हालसम्म करिब २५० स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्, तीमध्ये आधा संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमै छन् । भत्ता र सुरक्षा सामग्री उपलब्ध नगराए आकस्मिकसहित सबै सेवामा आफूहरू नखटिने आन्दोलित स्वास्थ्यकर्मीहरूको चेतावनी छ । वीरमा एक हजार ५ सय स्वास्थ्यकर्मी छन्, जसले संक्रमितको उपचारमा खटिएबापत पाउनुपर्ने सेवासुविधा पाएका छैनन् ।