सोसल मिडिया
Contact Us
युनिकोड
बेनी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीले प्रतिनिधिसभाका लागि सर्वसम्मतरूपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकले हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्यसमेत हुन् । बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ नरदेवी पुन र केपी (केदारप्रसाद) अधिकारीको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले जानकारी दिए । प्रदेशसभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरू सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस गरिएको छ । प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश अध्यक्ष तथा तत्कालीन संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यशोदा रोकालाई सिफारिस गरिएको पार्टीले जनाएको छ । समानुपातिकतर्फ क्षेत्र (क)मा विष्णु गुरुङ, गणेशबहादुर बानियाँ, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्वुजा र सिवानी ल्वागनले र (ख) मा खरमाया विटालु, सिर्जना केसी र सीता गुरुङ सिफारिस भएका छन् ।