मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक

सोमबार, भदौ २०, २०७९
Global Ime Bank

काठमाडौँ ।  पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो ।
बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । उनले भने, “कार्यदलले आफ्नो काम भोलिसम्म टुङ्ग्याउँछ र प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ । सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको छ ।”
दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने सचिव जोशीले बताए । कार्यदलको बैठक भोलि साँझ ६ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने जनाइएको छ ।
गठबन्धनमा आबद्ध दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

‘सिट बाँडफाँटको विषय वस्तुपरक हुनुपर्छ’  

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनमा पार्टीको तर्फबाट प्रस्तुत गर्ने दाबीलाई मजबुत ढङ्गले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ ।
गठबन्धनका तर्फबाट गठित कार्यदलमा सिट बाँडफाँटको विषयमा भएका प्रगति विवरणबारे छलफल गरिएको बैठकमा वैज्ञानिक र वस्तुपरक ढङ्गले छलफल गरी सिट बाँडफाँटको टुङ्गो लगाउनुपर्ने सुझाव सहभागी नेताहरूले दिनुभएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनका अनुसार देशभर पार्टी र सङ्गठनको अवस्थाबारे समीक्षा गरिएको छ ।

सिट बाँडफाँट समयमै : अध्यक्ष भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताए ।
सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट हुन नसके पनि अन्त्यमा सबैको सहमतिमै बाँडफाँट हुने उनको भनाइ थियो ।
अहिलेको गठबन्धन प्रतिगमनकारीका विरुद्ध भएका कारण मिलेर जानुको विकल्प नरहेको उनले बताए । निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको उनको भनाइ थियो ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार