सोसल मिडिया
Contact Us
युनिकोड
बागलुङ । नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर २ ९ख० समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए । दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो । त्यसलगत्तै माआवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो । यस क्षेत्रमा अघिल्लो पटक वाम गठबन्धनबाट शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जितेका थिए ।
शिक्षामन्त्री पौडेल बागलुङका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । बागलुङमा दुई सङ्घीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि उनी जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन् । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्दछ । नेकपा माओवादी केन्द्र बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर १ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरिएको माओवादी केन्द्र बागलुङका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिए । उनका अनुसार बागलुङ क्षेत्र नम्बर २ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाको नामसमेत सिफारिस गरिएको छ । निर्वाचन क्षेत्रका हिसाबले क्षेत्र नम्बर २ ले र भूगोलका हिसाबले क्षेत्र नम्बर १ ले सिफारिस गरेको हो । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा ९क० का लागि दुई जनाको नाम सिफारिस गरिएको छ । उक्त प्रदेशसभा सदस्यका लागि यज्ञवल्लभ शर्मा र चक्रपाणी कंडेले सिफारिस हुनुभएको छ । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा ९ख० मा कुलचन्द्र शर्माको नाम सिफारिस गरी पठाइएको जिल्ला इन्चार्ज शर्माले बताए । बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क र ख का लागि उम्मेदवारहरुको नाम सिफारिसका लागि छलफल भइरहेको माओवादी केन्द्र बागलुङले जनाएको छ ।