सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले लगातार दोस्रो विजय हात पार्ने क्रममा कीर्तिपुर क्रिकेट मैदानमा मलेशियालाई सजिलै हराएको छ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेशियालाई सोमवार नौ विकेटले पराजित गरेको हो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गरेकाले नेपालले मलेशियाले दिएको ११० रनको लक्ष्य १२.१ ओभरमै पूरा ग¥यो । शनिवार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई पनि नेपालले नौ विकेटले नै पराजित गरेको थियो । कीर्तिपुरमा आयोजित खेलमा उल्लेख्य संख्यामा नेपाली दर्शकहरू उपस्थित थिए ।
नेपालको लय नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा जमेका कुशल भुर्तेल र आशिफ शेखले फेरि पनि प्रभावकारी ओपनिङ गरे । आक्रामक खेलेका भुर्तेलले २६ बलमा अर्धशतक पूरा गरेका थिए । उनी तीन चौका र पाँच छक्का प्रहार गर्दै ६१ रनमा नटआउट रहे । शेखले भने २९ बलमा ४२ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरीले छ रनमा नटआउट रहे । उनले विजयी चौका प्रहार गरे । राष्ट्रिय टोलीबाट दोस्रो खेल खेलिरहेका भुर्तेलको यो लगातार दोस्रो अर्धशतक हो । पूर्वकप्तान पारस खड्काले नेपाली टोलीको प्रदर्शनको प्रशंसा गरेका छन् । अभ्यासका क्रममा घाइते भएकाले खड्काले यो शृङ्खलामा खेल्न पाएनन् । उनको दाहिने काँधमा चोट लागेको छ ।
मलेशियाको कमजोर ब्याटिङ टस जितेर फिल्डिङ रोजेको नेपालले परिचित प्रतिद्वन्द्वी टोली मलेशियालाई १६.५ ओभरमा १०९ रनमा रोकेको थियो । यसअघि मलेशियाले निरन्तर विकेट गुमाउन पुगेपछि फितलो स्कोरमै अलआउट भएको थियो । नेपालका लागि करण केसीले तीन, सन्दीप लामिछानेले दुई र अन्य चार खेलाडीले एक–एक विकेट लिएका थिए । मलेशियाका लागि सैयद अजीजले २७, शर्भीन मुनियान्डीले २० र शफिक शरिफले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । आइतवार नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट खेल्दै ८७ रन बनाएका वीरनदीप सिंहले नेपालविरुद्ध छ रन मात्रै बनाएका थिए । म्यान अफ द म्याच करण केसीले तीन ओभरमा १७ रन खर्चेर तीन विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले १–१ विकेट हात पारेका थिए । ऐरीले टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक बलिङ गरेका हुन् । नेपाल र मलेशियाबीच अहिलेसम्म भएका पाँच टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा यो नेपालको चौथो विजय हो ।
अबको खेल दुई खेलमा दुवै जितेको नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले मंगलवार नेदरल्यान्ड्सविरुद्ध र बिहीवार मलेशियाविरुद्ध खेल्नेछ । बुधवार मलेशियाका सामु नेदरल्यान्ड्सविरुद्ध आइतवारको पराजयको बदला लिने मौका हुनेछ । शीर्ष दुई टोलीबीच शनिवार फाइनल खेल हुनेछ ।