सिट बाँडफाँटको विषय दुई दिन भित्र टुङ्याइने गठबन्धन दलको निर्णय

कार्यदलको बैठक आज बस्दै
सोमबार, भदौ २०, २०७९

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि छिट्टै सिट बाँडफाँट टुङ्याउने दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको जनाएको छ । बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । गठबन्धनको कार्यदलको बैठक सोमबार दिउँसो १ बजे बस्ने र लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने उनले बताए ।
बैठकमा केही दिनेदेखि सिट बाँडफाँटकै सेरोफेरोमा छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिए । सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उनले बताए । बताए ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ०४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार