भदौको दोस्रो सातादेखि भएको वर्षाले किसानलाई राहत

शनिबार, भदौ १८, २०७९

धनुषा । भदौको दोस्रो सातादेखि भएको वर्षाले धेरै किसानलाई राहत दिएको छ । मानो रोपेर मुरी फलाउने समयमा खडेरी परेपछि धानखेती पर्याप्त मात्रामा गर्न नपाएका किसानलाई भदौरे झरीले राहत मिलेको हो ।
लामो समयसम्म खडेरी परेका अधिकांश ठाउँमा धानखेती सुक्न थालेको थियो तर यो वर्षाले धानखेतीलाई सिँचाइ सुविधा पुगेको मिथिला नगरपालिका–२ नक्टाझिजका किसान सुखन महतोले बताए । “धेरै ठाउँमा रोप्न नपाए पनि थोरै ठाउँमा रोपेको धान पनि सुक्न थालेको थियो तर पछिल्लो एक सातादेखि बेला–बेला परेको वर्षाले धानखेतीमा सिँचाइ पुगेको छ”, उनले भने, “अब त उब्जनी बढ्ला कि भन्ने आशा पनि पलायो ।”
यस वर्ष भदौको पहिलो साता लागिसक्दा पनि पर्याप्त वर्षात् नहुँदा अधिकांश किसान धान बाली राम्रो नहुने चिन्तामा थिए । धानखेती सुक्ने अवस्थामा पुगेको बेला भदौरे झरी लागेपछि किसानले राहतको महसुस गरेका हुन् । मल अभावमा धानखेती गरेका अधिकांश किसान पानी पनि नपरेपछि उत्पादन घट्ने चिन्तामा थिए तर अहिलेको वर्षाले धान उत्पादन बढ्ने आशा पलाएको वटेश्वर गाउँपालिका–५ शान्तिपुरका किसान जोगिन्द्र यादवले बताए ।
उनले भने, “साउन सकिदा पनि पानी परेन, भदौ पनि लाग्यो अझै पानी परेन, खेतमा धान सुक्न थालेको थियो, अब त यस वर्ष धानखेतीको उत्पादन पनि खान नपाइने भइयो भन्ने चिन्ता थियो तर अहिले चार–पाँच दिन प्रायः नियमित परेको पानीले धेरै राहतको महसुुस गरेका छौँ ।”
सुखन र जोगिन्द्रजस्तै धेरै किसानलाई अहिलेको वर्षात्ले राहत भएको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका क्षीरेश्वरनाथ नगरपालिका–४ रमदैयाका जगदीश यादवले अहिले पानी परेपछि सुकेको खेतले शीतलता पाएको बताए ।
“पानी लामो समयसम्म नपर्दा खेतमा चिराचिरा पर्न थालेको थियो”, उनले भने, “पानी परेपछि थोरै भए पनि राहत महसुस गरेको छु ।” यस वर्ष समयमै वर्षात् नहुँदा करिब दुई बिघा खेतमा धान रोप्न नपाएको उनले बताए ।
रमदैयाकै अर्का किसान दिपो यादवले भने, “सिँचाइको सुविधा छैन, खेतमा धान रोप्नलाई आकाशबाट पर्याप्त पानी परेन, डिपबोरिङको पानीले सबै खेतमा नपुगेपछि करिब एक बिघा जग्गा खाली नै छ ।” उनले अहिलेको पानीले पहिले रोपेको धानलाई राम्रो बनाए पनि नयाँ रोप्न नमिल्ने बताए ।
सिँचाइ सुविधा नहुँदा बर्सेनि आकाशकै भर पर्नुपर्ने अवस्था रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका सुखारी साहले बताए । “आकाशबाट परेको पानीले खेती गरिरहेका हामीलाई गत बुधबार रातिदेखि परेको पानीले धेरै राहत दिएको छ”, उनले भने, “भदौको पहिलोे हप्ता लाग्दा पनि पानी नपर्दा हामी चिन्तामा थियौँ, तर ढिलै भए पनि पानी परेको छ ।” अहिले भएको वर्षाले अधिकांश किसानलाई शीतलता महसुस गराएको छ ।
अहिलेको वर्षाले सुक्न थालेको धानबालीलाई अमृत सावित भएको जनकपुरधाम वडा नंं ८ का किसान रामचन्द्र उपाध्यायले बताउनुभयो । करिब डेढ बिघामा धानको रोपाइँ गरेर दुईपटक दूधमति नदीबाट दमकल लगाएर सिँचाइ गरे पनि खेत निकै सुक्खा भएका कारणले सुक्न थालेको उनको भनाइ थियो ।  अहिले केही दिनदेखिको झरीका कारणले सुक्न थालेको धानको प्राण रक्षा गर्न मद्दत पुगेको अर्का किसान रघुवीर रायले जानकारी दिए ।
लामो समयसम्म मधेस प्रदेशका जिल्लामा पानी नपरेका कारणले किसान निकै चिन्तित बनेका थिए । दुःख गरेर रोपिएको धानखेतमा चिरा परेर धान सुक्न थालेका थिए । केही दिनदेखिको वर्षाले खेतमा पानी जम्ने अवस्था सिर्जना भएकाले किसानलाई ठूलो राहत मिलेको छ । यसले सुक्न थालेको धानलाई रक्षा गर्ने भएको छ ।
यहाँका अधिकांश जिल्लामा लामो समयसम्म वर्षा नभएका कारणले किसान निकै चिन्तित बनेका थिए । सिँचाइको वैकल्पिक माध्यमले खेतमा पानी पठाए पनि टिक्न कठिन भएका बेलामा अहिले भदौरे झरीले किसान खुसी भएका हुन् । यस प्रदेशको आठ जिल्लाका किसानले भदौको पहिलो सातासम्ममा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ गरिसकेको मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिनुभयो । कुनै पनि वर्ष शतप्रतिशतमा रोपाइँ नहुने गरेको उनको भनाइ थियो ।
यस प्रदेशमा कुल कृषियोग्य भूमिमध्ये चार लाख पाँच हजार चार सय ५० हेक्टर जमिनमा धानखेती हुने गरेको मन्त्रालयले उपलब्ध गरेको तथ्याङ्कमा उल्लेख छ । यहाँको प्रमुख खाद्यान्न बालीका रूपमा धान नै रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर एकाइ धनुषाशाखाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले जानकारी दिए ।

खडेरीले खोस्यो गाँस
खडेरीले धान रोप्न नपाएपछि नरैनापुर गाउँपालिका–३ निवासी ताज मोहम्मद खाँ वर्ष दिन खाने धान कसरी जोहो गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । आफ्नो एक बिघाभन्दा बढी खेतमा धानखेती गर्दा वर्ष दिन खान पुग्दै आएकामा यो वर्ष आकाशे पानी नपर्दा धान रोपाइँ गर्नै नपाएको उनले बताए ।
आफ्नो खेतमा खडेरीले धान रोप्न नपाएका त्यहाँका किसान यो वर्ष चामल किनेर खानुपर्ने बाध्यताले चिन्तित बनेका छन् । आकाशे पानी नआएका कारण पम्पसेटमार्फत पानी लगाएर धान रोपाइँ गरेका किसानको समेत धान सुकेर नष्ट भएको छ । नवडा नं २ का वडाध्यक्ष मसूद अहमद शाहले आफ्नो जीवनकालमा यस्तो खडेरी र सुक्खा कहिले नभोगेको बताए ।
“धान रोपाइँ गर्ने नरैनापुरका किसानको असार र साउन महिना आकाश हेरेर बित्यो, तर एक थोपा पानी परेन”, वडाध्यक्ष शाहले भने, “धान रोप्ने खेत बाँझै छन्, यो वर्ष किसानको गाँस खडेरीले खोसेको छ ।”
विगतका वर्षमा धान बेच्दै आउनुभएका वडा नं १ निवासी यातरी बेहनालाई यो वर्ष धान–चामल जोहो गर्ने चिन्ताले सताउन थालेको छ । खडेरीले धान रोप्न नपाइएका कारण यो वर्ष चामल किनेर खानुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
खडेरीले धान उत्पादन नभएपछि चामल किनेर खान सक्ने स्थिति पनि नभएको   नरैनापुर–१ का अगुवा मोल्हे बेहना शेषले बताए । स्थानीय राजनीतिक दलको नेतासमेत रहनुभएका उहाँले खडेरीको मारमा परेका नरैनापुरवासीलाई यो वर्ष सरकारले समयमै उचित राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका किसानले वर्षा नहुँदा यो वर्ष करिब १५ प्रतिशतमात्र धान रोपाइँ गरेका छन् । रोपाइँ भएको धान पनि खेडेरीले सुकेको छ । धान रोपाइँ गर्न नपाइएका कारण यो वर्ष भोकमरी लाग्ने अवस्था आउन सक्ने चिन्तामा आफूहरू  रहेको वडा नं ६ गङ्गापुरका सोहनलाल यादवको भनाइ थियो
करिब चार हजार दुई सय हेक्टर जमिनमा धान खेती हुने उक्त गाउँमा खडेरीका कारण १५ प्रतिशतमात्रै रोपाइँ भएको र रोपाइँ भएको धान पनि पर्याप्त वर्षा नभएका कारण सुकेर नष्ट भएको  बाँके जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए ।
वर्षा नभएर धान रोपाइँ हुन नसकेपछि उक्त गाँउपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । वैकल्पिक सिँचाइको उपाय गरेर लगाएको धानबालीसमेत खडेरीका कारण नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए ।
उनका अनुसार बढदो गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरेपछि कृषियोग्य जमिन बाँझो रहेको र पानीको स्रोत सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार भएकाले यस्तो निर्णय गरिएको हो ।
सुक्खा क्षेत्र घोषणा भइसकेकाले किसानका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र सङ्घीय सरकारसँग गाउँपालिकाले आग्रह गरेको छ । खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र सङ्घीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी रहेको गाउँपालिका अध्यक्ष साहको भनाइ थियो । –रासस

 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार