भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

शनिबार, वैशाख ४, २०७८

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको उल्लेख छ ।  योसँगै देशभरी अहिलेसम्म कोरोनाका कारण कुल मृतकको संख्या एक लाख ७५ हजार ६४९ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६९२ जना सङ्क्रमित भएसँगै कुल सङ्क्रमितको संख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन् ।  भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या १६ लाख ७९ हजार ७४० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि मुक्त भइसकेकाहरुको कुल संख्या एक करोड २६ लाख ७१ हजार २२० पुगेको छ ।  भारतीय मेडिकल रिसर्च काउन्सिलले गत शुक्रबार मात्रै देशभरी १४ लाख ९४ हजार ३९७ जनाको कोरोना परीक्षण गरेको थियो ।–एएनआई
 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार