सोसल मिडिया
Contact Us
युनिकोड
चरिकोट । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नागरिकहरूको समस्याको विषयमा चिन्तित बनी राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति दोलखाले चरिकोटमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले दोलखाको सबै स्थानीयतहका लागि पक्की भवन निर्माण गर्न तथा बाढीपहिरोले जिल्लामा पु¥याएको क्षतिको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिए । मुख्यमन्त्री पाण्डेले पहिरो तथा बाढीपीडितहरूलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बागमती प्रदेशभित्रका सबै जिल्लाहरूमा कृषकहरूलाई बाँदरले दुःख दिएको भन्ने सबैतिरबाट गुनासो आएका कारण बाँदर नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए ।
मुख्यमन्त्री पाण्डेले समृद्ध प्रदेश निर्माणका लागि प्रत्येक वडामा वडा समाजवादी कार्यक्रम लागू गर्ने, शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका व्यक्तिलाई सहज तरिकाले सेवा प्रवाह गराउने, जातीय धार्मिकलगायत विभेदको अन्त्य गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरी प्रर्यटन प्रर्वद्धन गरिने, स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने जस्ता कार्यहरू बागमती प्रदेश सरकारले अघि सारेको जानकारी दिए ।
प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने उद्योगमन्त्रीको भनाइ
बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले सुरु गरेको पाचौँ दसैँ जुत्ताचप्पल प्रवद्र्धन मेलाको उद्घाटन गर्दै उनले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । “मुलुकमा औद्योगिक वातावरण जबसम्म निर्माण हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन”, उनले भने । प्रदेश सरकार उद्योगको विकासका लागि सधैँ अगाडि बढ्ने उनको भनाइ छ । उनले प्रदेश सरकारले कृषि औजार कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताए । उनले औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति निर्माण गर्न प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने स्पष्ट पारे । मन्त्री श्रेष्ठले घरेलु तथा साना उद्योग विकास समिति प्रदेशका सबै जिल्लामा रहेको बताउँदै उक्त कार्यालयमार्फत औद्योगिक गतिविधि भइरहेको उल्लेख गरे । उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने उनको भनाइ छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले जुत्ताचप्पल मेला आयोजना गरिएको जानकारी दिए । मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गरिएको बताए । उनले कोरोना महामारीका कारण धराशयी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्ता पाउन सकिनेछ । मेला भदौ २० गतेसम्म चल्नेछ ।