सरकारले साझै बन्द भनेन, तर विद्यालयसहित भिडभाड हुने स्थानहरुमा नजान अपिल 

सङ्क्रमण अति प्रभावित १४ जिल्लामा विशेष स्वास्थ्य सचेतना अपनाउन आग्रह
बिहीबार, वैशाख २, २०७८

काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका पछि विद्यालय बन्द गर्ने अपेक्षा गरिएकै बेला लकडाउन नभनी विद्यालययलगायतका भीड भाड हुने क्षेत्रमा नजान अपिल गरेको छ । निजी विद्यालयका सञ्चालकहरुको दबाबलाई थेग्न नसकेर सरकारले बन्द नभनेता पनि विद्यालय जस्ता भिड भाड हुने क्षेत्रमा नजानु भन्नु पनि लकडाउनकै एक रुप भएको विश्लेषकहरुले बताएका छन् । 

–    विद्यालय अविलम्व बन्द
–    ७ बजेपछि सबै रेष्टुरेष्ट तथा क्लब बन्द
–    खेलकूद, जीम, पूजाआजा तथा जात्रामा सहभागी नहुन अपिल 
–    सभा, सम्मेलन, बैठक तथा भेलामा नजान 
–    पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन अनुरोध
–    सरकारी अस्पताललाई कम्तीमा ५० प्रतिशत शय्या कोभिड सङ्क्रमितको व्यवस्थापनका लागि छुट्याउन 
–    निःशुल्क सेवा दिन अपिल
–    विदेशी नागरिकलाई पिसिअर नेगेटिभ आएपछि मात्र होटलमा बास राख्न अनुरोध 

उसले कोरोनाको दोस्रो भेरियन्टबाट अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज अपिल जारी गर्दै पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयलगायत भीड हुने ठाउँमा नजान आग्रह गरिएको छ । 
‘ती जिल्लाका बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय, ७ ः ०० बजेपछि सबै रेष्टुरेष्ट तथा क्लब, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलमा सहभागी नभइदिन हुन अनुरोध छ’, अपिलमा भनिएको छ ।
उनले अबका दिन सङ्क्रमण प्रभावका हिसाबले निकै नै चुनौतिपूर्ण हुनसक्ने भएकाले सबै नागरिक तथा सरोकारवाल निकाय सचेत हुँदै संवेदनशिल रुपमा जिम्मेवार बन्न पनि आग्रह गरेका छन् । अपिलमा जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । उनले सबैलाई सङ्क्रमणबाट जोगिन संवेदनशिल भइदिन र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन अनुरोध गरेका छन् ।  अपिलमा सबै अस्पतालले अनिवार्य रुपमा ज्वरो (फिवर) क्लिनिक सञ्चालन गर्न भनिएको छ । 
मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले विदेशी नागरिकलाई पिसीअर नेगेटिभ आएपछि मात्र होटलमा बास राख्न अनुरोध गरेका छन् । मन्त्रालयले नियमित रुपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड–१९ सङ्मक्रण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगराउन आग्रह गरेको छ ।  मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमितलाई व्यवस्थापन गर्न र तोकिएअनुसार निःशुल्क सेवा दिन पनि अपिल गरेका छन् । मन्त्रालयले बालबालिका, गर्भवती, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई कोभिड–१९ को परीक्षण तथा उपचारमा उच्च प्राथमिकतामा राख्न अनुरोध गरेको छ । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार