भेन्टिलेटर चलाउन जान्ने दक्ष जनशक्ति मनाङ जिल्ला अस्पतालमा अभाव    

बिहीबार, वैशाख २, २०७८

मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव थेग्दै आएको छ । हाल यो अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।  विसं २०७७ असारमा प्रदेश सरकारले यो अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।  अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङमा दुई मात्र चिकित्सक डा.प्रतिभा गौली र डा.सन्तोष अधिकारी कार्यरत छन् । ‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन’, डा.अधिकारीले  भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।’  त्यस्तै डा.प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मताहातमा झन्डै २० करोड रुपैयाँको लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ भने डा सन्तोषको अवधि सकिएको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको उनको भनाइ छ । भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा.अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ । अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी कार्यरत छन् । सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा.सन्तोष अधिकारी, नर्स बिना पौडेल र ल्याबमा करारका कर्मचारी प्रकाश रोका छन् । दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा.सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ त्यसको तयारी हुनु जरुरी छ । यस्तै तीतो अनुभव डा.सन्तोष अधिकारीको छ । विश्वभर फैलँदै गएको कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै सङ्क्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जि ल् लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा.अधिकारीले बताए । स्वस्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला  जटिल बिरामी भएमा समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुनसक्छ । हुनेखानेले हेलिकोप्टर चार्टर्ड गरेर ठाउँमा पुग्लान तर सर्वसाधारण भने अकालमै मर्नुपर्ने बाध्यता छ । स्थानीय तहले पटक–पटक पहल गर्दासमेत सुनुवाइ नभएको स्थानीय तहको गुनासो छ । प्रदेश सरकार र केन्द्रमा समेत बेलाबेलामा चर्चामा रहेको मनाङ अस्पतालमा अझै जनशक्ति अभावले भएका उपकरणसमेत सञ्चालनमा आउन सकेका छैनन् । सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास त भएकै छन् तर आवश्यक जनशक्ति कहिले पुग्ने सर्वसाधारणको गुनासो छ । देशमा बढ्दै गइरहेको कोरोना महामारीमा यी उपकरण सञ्चालनमा आउन सके जिल्लावासीले राहत महसुस गर्ने थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार