अस्पताल सम्झौता खारेजीको निर्णय फिर्ता लिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

सोमबार, साउन २३, २०७९

लमजुङ । लमजुङका नागरिक समाजले एचडिसिएससँग जिल्ला अस्पताल लमजुङको सम्झौता खारेजीको निर्णय  फिर्ता लिन माग गरेको छ । एचडिसिएससँगको सम्झौता खारेज तथा भंग गर्ने प्रदेश सरकारको निर्णय अविवेक, पूर्ण खेलवाड र अपरिपक्कता भएको भन्दै नागरिक समाजले ज्ञापनपत्र निकाल्दै तत्काल उक्त निणर्य फिर्ता गर्न दबाब दिएको हो । 

नागरिक समाजले लमजुङ जिल्ला अस्पतालको सम्झौता खारेजीका सम्बन्धमा विभिन्न माग राख्दै  प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नेपालकै उत्कृष्ट व्यवस्थापन भएको लमजुङ जिल्ला अस्पताललाई सरकारले आफ्नो राजनितिक अविष्ट पूरा गर्नका लागि मात्रै अस्पतालको हत्या गर्ने कुचेष्टा गरेको नागरिक समाजको अरोप छ । 

जनताको मस्तिष्कमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान  गर्ने स्वास्थ्य निकाय बन्न सफल जिल्ला अस्पताललाई भरपर्दो आधार र विकल्प विना षडयन्त्र पूर्व रुपमा स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको प्रस्तावमा गण्डकी प्रदेश सरकार मन्त्री परिषदले गरेको निर्णयलाई तुरुन्त फिर्ता लिन ज्ञापनपत्र मार्फत माग गरिएको छ । एचडिसिएससँगको सम्झौता खारेजीको निर्णयले नागरिकको स्वास्थ्यमा खेलबाड गरेको भन्दै ज्ञापनपत्र बुझाएको नागरिक समाजका संयोजक खेमजंङ गुरुङले बताए ।

ज्ञापनपत्रमार्फत हाल अस्पतालमा भइरहेको सेवा सुविधालाई कायम राख्नुपर्ने र अस्पताल बचाउन गरिएको संघर्षमा जवाफ नआएको खण्डमा सृजन हुने घटनाको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शुशिल वैद्यले तत्कालै गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा पठाउने र अस्पताल जस्तो संवेदनशिल क्षेत्र सार्वजनिक चासोको विषय भएकोले यसविषयमा छिटोभन्दा छिटो सम्बोधन गर्न आग्रह गर्ने  बताए ।

प्रदेश सरकारअन्तर्गत तत्कालिन सामाजिक विकास मन्त्रालय र एचडिसिएसबीच अस्पताल व्यवस्थापन र सञ्चालनका विषयमा २७ कार्तिक २०७७ सम्झौता भएको थियो । प्रदेश सरकारले हाल उक्त सम्झौता भंग गरी हालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतमा रहनेगरी ५० शैय्याको जिल्ला अस्पतालको रुपमा सञ्चालन निर्णय गरेको हो ।  

मन्त्रिपरिषदको बैठकले अस्पताल व्यवस्थापनका विषयमा सम्झौता भंग गर्ने निर्णय गरेसँगै तीन महिना भित्र अस्पतालको चल अचल सम्पति प्रदेश सरकारलाई हस्तान्तरण गर्न परिपत्र गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार