सोसल मिडिया
Contact Us
युनिकोड
चापागाउँ । अर्थमन्त्री विष्णु पौडेलले गोदावरी नगरपालिकामा निर्माण गरिने १५ शैयाको अस्पताल भवनको सोमबार शिलान्यस गरेका छन् । सरकारले चालु आर्थिक वर्षमा एकैसाथ ३ सय ९६ स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने योजना अनुसार सोमबार अर्थमन्त्री पौडेलले अस्पताल भवनको शिलान्यास गरेका हुन् । सोमबार करिब २ सय ५० पालिकामा अस्पतालको शिलान्यास गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । अहिले ७ सय ५३ पालिकामध्ये १ सय ४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिए । ‘चालु वर्षमा ३ सय ९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माणको काम सुरु हुनेछ,’ उनले भने । नीति तथा कार्यक्रममा ५ देखि १५ शैयाको अस्पताल निर्माण गरिने भने पनि सबैतिर १५ शैयाकै अस्पताल बनाउने तयारी गरिएको डा. गौतमले जानकारी दिए । तत्कालै ५ शय्याको अस्थायी अस्पताल सञ्चालनका लागि पालिकामा १०–१० लाख बजेट पठाइसकिएको र त्यो कार्यान्वयनको चरणमा रहेको छ । अब बन्ने आधारभूत अस्पताल स्थायी प्रकृतिका हुनेछन् । ती कम्तीमा १५ शैयाकै हुनेछन् । आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी टेन्डर प्रक्रिया गर्न पालिकाहरूलाई भनिएको छ । पालिकालाई यस वर्ष आंशिक र आगामी वर्ष बाँकी रकम पठाउने सरकारको तयारी छ । बहुवर्षीय योजना हो, यसमा नेपाल सरकारको एक खर्बभन्दा बढी खर्च हुने अनुमान छ । पालिकामा रहेका पुराना स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्थान र पूर्वाधारलाई छानेर अस्पताल बनाउने तयारी गरिएको छ । भौतिक पूर्वाधार निर्माणको क्रम चलिरहन्छ, त्योसँगै चिकित्सक र नर्स पठाउने काम पनि थाल्ने तयारी सरकारको छ । भवन निर्माणले केही समय लिए पनि अहिले भएकै पूर्वाधारबाट पनि सक्दो छिटो अस्पताल सञ्चालन गर्ने प्रयास रहनेछ । पालिकाले जग्गा व्यवस्थापन गरिसकेका स्थानहरूमा सोमबार र अन्यमा एक साताभित्र अस्पतालको शिलान्यास गरिने छ ।