पोखरामा भगिनी सहरको थिम पार्क निर्माण गरिने

मंगलबार, साउन १७, २०७९

पोखरा ।  युनानको वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधिमण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ ।  नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६७ औं वर्षका अवसरमा प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटमा पोखरा र युनानको कुन्मिङ सहरबीच भविष्यमा कसरी हातेमालो गरेर अगाडी बढ्न सकिन्छ भन्नेमा छलफल केन्द्रित थियो ।
लिङचेन हु नेतृत्वको  ५ सदस्यिय प्रतिनिधिमण्डलसँग भगिनी सम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र त्यो पार्कमा ती सहरहरूको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए । थिम पार्कको निर्माणले पोखरामा चिनियाँ पर्यटकहरूको आकर्षण बढ्ने विश्वास प्रमुख आचार्यको छ ।  थिम पार्क निर्माणका लागि चिनियाँ टोलीले पोखरामा रहेका पार्कहरुको अध्ययन गरिरहेको छ ।
लिङचेन हु नेतृत्वको चीनको प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य लगायतका सामाग्रीहरू पोखरालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । सो क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनी सम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने विषयमा समेत छलफल भएको प्रमुख आचार्यले बताए । यस विषयमा लिङचेन हु नेतृत्वको चीनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको छ । 
सो क्रममा युनानको वाणिज्य प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख आचार्यलाई सफल कार्यकालको शुभकामना सहित बधाई समेत ज्ञापन गरेको छ । टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पनि सहभागी थिए । 
पोखरा महानगरपालिकाले चीनको कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङ लगायत सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । त्यस बाहेक जापानको कोमागाने, टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक गु सहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार