बाढीको त्रासले छिटुवा धान

शनिबार, साउन १४, २०७९

टीकापुर । अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् । बाढीले धान खेती भित्र्याउन नपाएका किसानले यस वर्ष लगानी खेर नफाल्ने भन्दै छिटुवा धान खेती गरेका हुन् ।  टीकापुर नगरपालिका–८ की भुन्टी साउँदको १ बिघा जमीनमा छिटुवा धान खेती गरिएको छ । भुन्टीको परिवारले गत वर्ष बाढीले बगाएकाले आफ्नो खेतको धान देख्न पनि पाएनन् । पाकेको सबै धान सबै बाढीले बगाएपछि भुन्टीको परिवारले यस वर्ष खेत रोप्ने आँटै गरेन । उनीहरूले भए खाउला नभए खेती गर्ने रकमले अन्न किनौँला भनेर छिटुवा धान खेती गरे । 
“धान खेतीमा गरिएको लगानी पोहोर बाढीमा मिसियो, मेहनत, लगानी सबै पानीमा बगेपछि यस वर्ष खेती गर्ने मन लागेन”, भुन्टी भन्छिन्, “खेती गर्न धेरै खर्च लाग्छ, पूरा परिवार खेतमै जोतिनुपर्छ । त्यसैले बीउमात्र भए पुग्ने भएकाले धान छरेका हौँ ।”
धान रोप्नुको सट्टा उनीहरूको उम्रिएको धान पानी नपाएर सुकेर बिग्रियो । लामो समयसम्म वर्षा नभएपछि उम्रेको धान सुक्यो । “असार महिनाभरि पानी परेन, धान सुकेपछि त्यसैमा मास खेती गरेकी छु”, भुन्टीले भनिन्, “भए खाउला, नभए अब के गर्नु ? खेतीकै भरमा बाँचेका हामी अब यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आउँदैछ ।”
टीकापुर–८ कै मञ्जु साउँदको परिवारले पनि डेढ विघा जमीनमा धान छरेको छ । उनीहरूको समस्या पनि यस्तै हो । बाढीको त्रासले मञ्जुको परिवारले पनि खेती गर्ने हिम्मत गरेन । “डेढ बिघा खेतमा धान खेती गर्न लाखौँ खर्च हुन्छ, खर्च गरेर उत्पादन भित्र्याउने ग्यारेन्टी छैन”, मञ्जुले भनिन्, “हामीमात्र होइन हाम्रा अन्य छिमेकीले पनि यस वर्ष खेती गरेनौँ ।”
बीउ राख्ने, खेत जोत्ने काम गर्नुभन्दा धान छर्नु उत्तम रहेको भन्दै किसानले यस वर्ष छिटुवा धान लगाएका स्थानीय श्यामलाल चौधरीले बताए । 
“गत वर्ष सयौँ किसानको पाकेको धान बाढीले बगायो, यस वर्ष धान खेती गर्न लगानी नगर्ने सोच बनायौँ”, उनले भने, “मैले साढे चार बिघामा धान छरेको छु, भए हुन्छ नभए पनि कम लगानी खेर जान्छ । यस्तो महँगो बीउ, मल, जोताइमा के खर्च गर्नु ? बाढीको भर छैन ।” चौधरीले जस्तै अन्य किसानले समेत यस वर्ष लगानी खेर जाने डरले धान रोपाइँ गरेका छैनन् ।
स्थानीय शेरबहादुर साउद ८ नं वडामा करिब डेढ सय बिघा जमिनमा छिटुवा धान खेती गरिएको बताए । “नदी नियन्त्रणको काम भएको छैन, बढी वर्षा भएमा नदी बस्तीमा पस्छ, खेतीमात्र होइन मानिसकै बिचल्ली हुन्छ”, साउदले भने, “त्यसैले यहाँका अधिकांशले खेती गरेनन् । खेत भएर पनि यहाँका नागरिकलाई भोकमरीको समस्या हुने अवस्था आएको छ ।”
टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बाढी, कटान र डुवानको समस्या विसं २०३५ देखिकै समस्या रहेको बताउँछन् । “बाढी र नदी कटानकै कारण साविक धनसिंहपुर गाविसको ९ नं वडा छैन, १ नं वडामा नदी बगिरहेको छ । जुन अहिलेको ८ नं वडामा पर्छ”, उनले भने, “नदी कैलालीतर्फ धार परिवर्तन गरेर बगिरहेकाले हामीले रोक्न सक्ने अवस्था छैन । गत वर्ष कात्तिकमा आएको बाढीले ९५ प्रतिशत किसानको धान खेती बग्यो ।”
उनले सङ्घर्ष समिति बनाएर नदी नियन्त्रणका लागि दबाब दिने काम गरिरहेको, स्थानीय सरकारले गर्न सक्ने अवस्था नभएको भए पनि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नियन्त्रणको काम गरिरहेको बताए । 
“खेती लगाउने, बगेर जाने समस्याले किसान पीडामा रहेका, खेतीप्रति आकर्षित नभएको अवस्था छ । अहिले एक सातादेखि वर्षा भइरहेकाले छिटेको धान पनि डुबेको अवस्था छ”, उनले भने, “हामीले आवश्यक बीउ, मलजस्ता कार्यमा सघाउँदै आएका छौँ । प्रविधिका लागि सिँचाइ आयोजनाले सघाइरहेको छ ।”

टारी खेतबाहेक तनहुँमा अधिकांश खेतमा रोपाइँ
टारी खेतबाहेक तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ ।  असारमा राम्रै वर्षा भएकाले टारी खेतबाहेक अन्य क्षेत्रमा रोपाइँ भएको हो । जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइँ भए पनि लामो समय बर्सात नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । यस वर्ष किसानले युरिया र डिएपी मलको प्रयोगबिना नै धान रोप्न बाध्य भएका छन् । अवैधरुपमा व्यापारीले ल्याएका मल सीमित किसानले चर्को मूल्य तिरेर भए पनि खेतमा प्रयोग गरेका थिए । 

जिल्लामा मलको आपूर्ति ठप्प भएपछि वैकल्पिक उपाय अवलम्बन गर्न सुझाव दिएको केन्द्रका प्रमुख तिवारीले बताए । किसानले खेत रोप्ने समयमा मल नपाएपछि धान उत्पादनमा कमी आउन सक्ने देखिएको छ । अहिले अधिकांश किसानले उन्नत जातको बीउ प्रयोग गर्ने हुँदा रासायनिक मलको आवश्यकता पर्ने उनले बताए ।
तनहुँमा गत फागुनदेखि नै युरिया मलको मौज्दात सकिएको कृषि सामग्री संस्थान दमौलीले जनाएको छ । तनहुँ र लमजुङका कृषकका लागि मल उपलब्ध गराउँदै आएको संस्थानमा डिएपी मलको मौज्दात नभएको संस्थानका प्रमुख दिनेश शर्माले जानकारी दिए । अहिले संस्थानसँग ४५ टन पोटासबाहेक अन्य मल छैन । उनले भने, “अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा कमी आउनु र मूल्यमा अत्यधिक वृद्धि हुँदा किसान मारमा परेका छन् ।” जिल्लामा एक हजार टन युरिया र छ सय टन डिएपी मल यस मौसममा आवश्यक पर्ने सो संस्थानले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार