कालीगण्डकी करिडोर अवरुद्ध

मंगलबार, साउन १०, २०७९

गलकोट ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ  सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।

कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार उक्त पहिराले कालीगण्डकी करिडोरसँगै बागलुङबाट दक्षिण भेग कुस्मिशेरा र बरेङ जाने सडकखण्डसमेत अवरुद्ध गरेको छ । यससँगै बागलुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको छ । 

उक्त स्थानमा दैनिकजसो पहिरो खसिरहेको छ । अहिले पहिरो पन्छाउनका लागि कालीगण्डकी करिडोर, बागलुङ नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । यस्तै आज बिहानदेखि अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्गको बुर्तिवाङ खण्ड पहिरो पन्छाएसँगै सञ्चालन भएको छ ।

अवरुद्व डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३ बजेदेखि अवरुद्व भएको थियो । 
जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।
डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाधरूपमा सञ्चालन भएको उनले बताए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार